काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद अवरोध गरेको छ । नाबालिकालाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोप लागेकी लुम्बिनी प्रदेशकी नेकपा एमालेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने निर्णय गरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आपत्ति जनाएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र उच्च सरकारी वकिलको कार्यालय पाटनले शर्माविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो ।
यो विषयमा रास्वपाका सांसद अशोक चौधरीले मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विरोध गरे । ‘यो सरकार न्यायको होइन, अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो र निर्दोषलाई शूली चढाउने शासकको रूपमा इतिहासमा दर्ज हुँदैछ,’ चौधरीले भने ।
उनले बालिकाको उद्धार गरे पनि दोषीलाई कारबाही किन नगरेको भन्ने प्रश्न गरे । ‘कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरूलाई आशा दिलाएको थियो । तर, विडम्बना । आज यही सरकारको छत्रछायाँमा एक सांसदले दाङकी थारु नाबालिकालाई बन्धक बनाएर दासीसरह शोषण गरिन् । काठमाडौँ महानगरपालिकाले उद्धार गर्यो, तर कारबाही ? शून्य !,’ चौधरीले भने ।
दोषीलाई कारबाही नगर्ने हो भने कमलरी प्रथा पुनः स्थापित भएको घोषणा गरिदिन माग गरे । ‘यदि आठ–आठ वर्षसम्म एउटी नाबालिकालाई एउटा सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने र सरकार मूकदर्शक बनी बस्छ भने नेपाल सरकारले खुलेरै घोषणा गरिदियोस्, कमलरी प्रथा पुनः स्थापित भइसकेको छ भनेर,’ उनले भने ।
उनले वर्तमान सरकार आफ्ना नेता कार्यकतालाई बचाउनलाई, भ्रष्ट्राचारीलाई जोगाउनलाई,दलाल ठग बिचौलियालाई उन्मुक्ति दिनलाई बनेको बताएका छन् ।