काठमाडौँ। कैलालीमा चितुवाको छालासहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार साउँदलाई सोमबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ नायव निरीक्षक वासुदेव अवस्थी नेतृत्वको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो ।
अवस्थीको कमाण्डमा खटी गएको प्रहरी टोलीले धनगढी उप-महानगरपालिका वडा नं. ०४ बसपार्कस्थित वर्ष ४३ को देवसिंह बोहराले सञ्चालन गरेको मिलनसार गेष्ट हाउसबाट नियन्त्रणमा लिएको हो ।
खानतलासी गर्दा नरेशको झोलामा ८ फिट २ इन्च लम्बाइ र २ फिट २ इन्च चौडाइ भएको एक थान चितुवाको छाला बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेका नरेशलाई थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय धनगढी पठाइएको छ ।