काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सुनुवाइ सुरु भएको छ ।
आजै चिया समयअघि बसेको संवैधानिक इजलासले कानुन व्यवसायीसँग छलफल गरेको थियो । त्यसपछि प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले चिया समयपछि सुनुवाइ सुरु गर्ने जनाएका थिए ।
चिया समयअघि उनले निवेदकहरूको संख्या, वकालतनामा गर्ने कानुन व्यवसायीहरूको संख्या, बहस गर्ने कानुन व्यवसायीहरूको संख्या र समयबारे जिज्ञासा राखेका थिए । धेरै निवेदन र कानुन व्यवसायीहरू भएपछि सुनुवाइमा व्यवस्थापन गर्न उनले कानुन व्यवसायीलाई अनुरोध गरेका थिए ।
त्यसक्रममा अधिवक्ता ओमप्रकाश अर्यालले आफूहरूले बहस नदोहोर्याउने र संक्षिप्त रूपले भनाइ राख्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरी संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।