काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य अमृतबहादुर सुनुवारसहित विभिन्न पार्टीका एक सय जना नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बुधबार आयोजित एक कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
सभापति देउवाले खादा लगाउँदै उनीहरूलाई काँग्रेसको साधारण सदस्यता हस्तान्तरण गरेका छन् । काँग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा सक्रिय भएर लाग्न सुझाव दिए ।
सभापति देउवाले भने, ‘‘पार्टीमा नयाँ पुरानाभन्दा पनि सक्रियता र योगदानका आधारमा पार्टीले मूल्यांकन गरेर अवसरको बाँडफाँट गरिने छ । तपाईँहरू सबैजना सक्रिय पूर्वक पार्टीलाई बलियो बनाउन लाग्न अनुरोध छ ।’’
रामेछापका जिल्ला सभापतिसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले रामेछाप, दोलखालगायत विभिन्न जिल्ला नेता तथा कार्यकर्ताहरूलाई पार्टी प्रवेश गराउन समन्वय गरेका छन् । नवप्रवेशीहरुलाई स्वागत गर्दै राज्यमन्त्री तामाङले पार्टीमा कसैलाई अन्याय हुन नदिने भएकाले संगठनलाई बलियो बनाउन लाग्न आग्रह गरे ।
पार्टी प्रवेश कार्यक्रममा पूर्वसांसद दिलमान पाख्रिन, दोलखा पार्टी सभापति वर्मा लामालगायतको उपस्थिति रहेको थियो ।
काँग्रेसमा प्रवेश गर्नेहरुमा जनता समाजवादी पार्टीका केन्द्रीय परिषद् सदस्य मनप्रसाद सुनुवार, जसपाकै महिला केन्द्रीय सदस्य लुकमाया सुनुवार, रामेछाप जिल्ला सचिव प्रसाद सुनुवार, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामेछामका उपाध्यक्ष दशराम सुनुवारलगायत नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश गरेका हुन् ।