काठमाडौँ । विभिन्न संवैधानिक परिषदमा नियुक्त भएका ५२ पदाधिकारीविरुद्धको मुद्दाको सुनुवाइ हेर्दा हेर्दैमा गएको छ । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा संवैधानिक इजलासमा बुधबार अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।
आज बहस नसकिएपछि बाँकी सुनुवाइ अर्को दिन गर्ने गरी हेर्दाहेर्दैमा गएको हो । प्रधान न्यायाधीश राउतले अर्को मिति तय गरेपछि बहसका लागि खबर गर्ने जनाएका छन् ।
बुधबार दिउँसो खाजा खाने समयपछि बसेको संवैधानिक इजलासले कानून व्यवसायीसँग छलफल गरेर सुनुवाइ अघि बढाएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा प्रतिनिधिसभा विघटन भएका बेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्दै संवैधानिक परिषद्ले विभिन्न संवैधानिक निकायमा ५२ जना पदाधिकारी नियुक्त गरेको थियो ।