काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिका-५ मा भएको स्कुल बस दुर्घटनामा ज्यान गुमाउने तीन जना विद्यार्थीको सनाखत भएको छ ।
चाबहिलको मैजुबहालस्थित सत्य साई एकेडेमीका विद्यार्थी सवार बस बुधबार दिउँसो नगरकोटबाट काठमाडौँतर्फ आउने क्रममा कात्तिकेनजिकै दुर्घटनामा परेको थियो ।
प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार उपचारका लागि अस्पताल ल्याइपुर्याइएका तीन जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्ने ११ वर्षीय क्रिशल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-७ घर भई चाबहिल बस्ने २४ वर्षीय सुरेश तामाङ र सिन्धुपाल्चोक घर भइ हाल काठमाडौँको भिमसेनगोला बस्ने १४ वर्षीया शुशांका डोटेल रहेका छन् ।
सम्बन्धित समाचार शंखरापुरमा स्कुल बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४० जना घाइते
क्रिशलको त्रिवि शिक्षण अस्पतल-महाराजगञ्ज, सुरेशको नेपाल मेडिकल कलेज र शुशांकाको शंखरापुर अस्पतालमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा परेर अन्य ४० जना घाइते भएका छन् ।
घाइतेहरूको अहिले विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।