काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नै पार्टी नेतृत्वको अघिल्लो सरकारले कर्णालीका भूकम्प पीडितलाई झुक्याएको बताएका छन् ।
माओवादी सशस्त्र युद्ध सुरुको ३०औँ वर्ष प्रवेशको अवसरमा रुकुम पश्चिमको सानी भेरी गाउँपालिकामा आयोजित विशेष समारोहमा नेता शर्माले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भूकम्प प्रभावितलाई घर बनाउन ५ लाख दिने भनेर झुक्याएको बताएका हुन् ।
शर्माले भने, ‘हाम्रै नेतृत्वको अघिल्लो सरकारले ५ लाख दिने भनेर झुक्काएछ । निर्णय गरेको भनियो तर कतै पनि भेटिएन । अहिले आएको यो सरकारले ४ लाख दिने निर्णय गरेको छ । एक लाख घटेर आए पनि अब पीडितले घर बनाउने पैसा पाउने भएका छन् । पहिले पनि हामीले हारगुहार नगरेको होइन । हाम्रो वरिपरिका मन्त्री पनि थिए (शक्ति बस्नेत) तर केही भएन । अहिलेको सरकारले कमसेकम कार्यविधि टुंग्याएको छ । केही बजेट आएको छ, अब काम गर्न सकिने भएको छ ।’
पूर्वमन्त्री शर्माले रुकुम पश्चिम र जाजरकोटका भूकम्पपीडितको लागि राहत, उद्धारलगायतका काममा आफू सुरुदेखि नै संलग्न रहेको बताए । उनले रुकुमले धोका दिन नजाने तर धोका खाने गरेको प्रसंग समेत कोट्याउँदै पार्टीमा सुधार ल्याउनुपर्छ भन्दा आफूमाथि अनेक लाञ्छनाहरू लगाइएको बताए ।