काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आवासीय क्षेत्रमा जोखिम बढेको र स्थानीयको गुनासोका आधारमा कवाड संकलन र भण्डारणमा रोक लगाएको जनाएको छ ।
शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै महानगर प्रहरीले जनगुनासोको आधारमा आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र आवासीय क्षेत्रमा पूर्ण रूपमा हटाउने नगर सभाको निर्णय कार्यान्वयन गरिएको स्पष्ट पारेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले मापदण्ड विपरीतका टहरा निर्माण गरी कवाडी व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले सम्झाउँदा समेत नमानेको कारण जबरजस्ती गर्नुपरेको बताएका छन्।
उनले भने, ‘ महानगरको नगर सभाको बैठकले आवासीय क्षेत्र बाहेकका स्थानमा मात्रै कवाडी राख्ने र व्यवस्थापन गर्ने र आवासीय क्षेत्रमा पूर्ण रूपमा हटाउने भन्ने निर्णय बमोजिम हामीले विभिन्न स्थानमा रहेको कवाड गोदाममा गएर सम्झाउने बुझाउने लगायतका क्रियाकलाप गरेको र महानगरबाट सूचना समेत जारी गर्यौँ ।तर उहाँहरूले अटेर गरेकाले हामीले जबरजस्ती हटाउनु परेको हो।’
उनले कवाड व्यवसायमा रोक लगाउन नगर पहरीले सम्झाउँदा समेत अटेर गर्ने र प्रहरीमाथि आक्रमण गरेका घटनाहरूलाई बंग्याउने काम भएको भन्दै आपत्ति जनाए । उनले स्थानीयको गुनासो र आवासीय क्षेत्रमा बढेको जोखिम कम गर्न मात्रै कवाड संकलनमा रोक लगाएकोमा सत्य कुरालाई बंग्याएर विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै दुःख व्यक्त गरेका छन् ।
कवाड व्यवसायमा सञ्चालनमा रोक लगाउन सम्झाउन गएको प्रहरीमाथि आक्रमण हुँदा नगर प्रहरी घाइते भएको उनले भनाइ छ ।
‘विगत केही दिनदेखि सामाजिक सञ्जाल लगायत केही मिडियाहरूमा चाहिँ कवाडको विषयमा विभिन्न टीकाटिप्पणी, विभिन्न फोरममा छलफल भएको गुनासोहरू आएको छ ।तर सत्य विषयलाई बंग्याएर विभिन्न टीकाटिप्पणी भइरहेको छ।यसप्रति हामी दुखी छौँ।’
उनले अझै पनि धेरै ठाउँमा महानगरको आदेशलाई अटेर गरेर कवाड व्यवसाय सञ्चालन हुँदै आएको आरोप लगाए । महानगर प्रहरी स्थानीय तहको प्रहरी भएको कारण स्थानीय तहको आदेश र निर्णय मात्र कार्यान्वयन गरेको उनको भनाइ छ ।
उनले चैत-वैशाखमा आउने हुरीले टहराहरू उडाएर थप जोखिम निम्त्याउने भन्दै समयमै टहराहरू हटाउन स्थानीयलाई आग्रह गरेका छन् ।