काठमाडौँ । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले अमेरिकामा गैर कानुनी रूपमा बसिरहेका नेपालीलाई उक्त देशले नेल, हतकडी र जन्जिर लगाएर डिपोर्ट गर्न सक्ने भन्दै सचेत रहन सरकारलाई ध्यानाकर्षण गराएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले यसरी नेपालीलाई अमेरिकाले डिपोर्ट गरे विश्व समुदायमै नेपालको छवि धमिलिन सक्ने बताएका हुन् ।
‘नेपालका कयौँ नागरिक गैर कानुनी रूपमा अमेरिकामा छन् । नेपाली नागरिकलाई पनि भारतीयलाई जसरी अमेरिकी सरकाले नेल, हतकडी र जन्जिर लगाएर अमानवीय कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ ’, उनले भने, ‘यदि यो विषयमा ध्यान नदिएमा विश्व समुदायमा समेत नेपालको प्रतिष्ठामा आँच पुग्न सक्छ । त्यसैले यदि अमेरिकामा गैर कानुनी तवरबाट नेपाली लुकेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।’