काठमाडौँ । कवाड व्यवसायी समाज नेपालले राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरलाई ज्ञापन पत्र बुझाएका छन् ।
कवाडी व्यवसायीहरूले आज आयोगका अध्यक्ष मगरलाई भेटेर काठमाडौँ महानगरपालिकाले एक वर्षदेखि कवाडहरुमा डोजर चलाउने, महानगर प्रहरीले व्यवसायीलाई कुटपिट, गाली गलौज तथा अभद्र व्यवहार गर्ने गरेको भन्दै ध्यानाकर्षण गराएका हुन् ।
महानगर प्रहरीले दादागिरी शैलीमा कुटपिट गर्दा व्यवसायी अंगभंग हुनु परेको र केही मानिस अझै उपचाररत रहेका उनीहरूले बताएका छन् । पेशा व्यवसायमा आबद्ध मानिसको गरिखाने आधार भत्काइरहेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
व्यवसायी शारीरिक र मानसिक दबाब झेल्न बाध्य भएको बताउँदै हाल साइकलमा कवाड संकलन गर्दै आएका संकलकका साइकल र कवाड समान जफत गरिरहेको उनीहरूले गुनासो गरेका छन् ।
प्रचलित कानुन बमोजिम दर्ता भई आफ्नो पेशा व्यवसाय गर्दै आएका कवाड व्यवसायीमाथि भइरहेका अराजक गतिविधि रोक लगाई कवाड व्यवसायीलाई स्वतन्त्र रूपमा आफ्नो पेशा व्यवसाय गर्न पाउने हक सुनिश्चित गरिदिन अध्यक्ष मगरसमक्ष अनुरोध गरेका छन् ।
प्रचलित कानून बमोजिम सम्बन्धित निकायको अनुमतिमा काठमाडौँ महानगरपालिकाको ३२ वटै वडाहरूमा कवाड व्यवसाय सञ्चालन गर्दै आइरहेका थिए । तर महानगरपालिकाले भने कवाडी व्यवसायीमाथि जाइलाग्ने गरेको छ ।