काठमाडौँ । रुपन्देहीको रोहिणी गाउँपालिकाका कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि हातपात गरेका छन् । घटनाको विरोधमा सबै कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन खानले हातपात गरेको कर्मचारीहरूको भनाइ छ । गाउँपालिकामा कार्यरत कर्मचारीहरूले विज्ञप्ति जारी गर्दै दोषीमाथि कारबाही नहुँदासम्म काममा नफर्कने बताएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१-११-५ गते दिउँसो १२ः१५ बजे यस रोहिणी गाउँपालिका रुपन्देहीको कार्यालयमा कार्यपालिका बैठक सञ्चालन भइरहेको अवस्थामा शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेलाई आमन्त्रित गरी बैठकमा सहभागिता जनाउनुभएको हो । निज वडाध्यक्ष करम हुसेन खानले बारम्बार कर्मचारीहरूलाई गालीगलौज गर्ने र शाखामा तालाबन्दी समेत गर्ने गरेको, कर्मचारीमाथि अप्रिय अपशब्द व्यक्त गर्ने र दादागिरी देखाउने कार्य गर्दै आएको अवस्था छ ।’
यस परिस्थितिमा कुनै राष्ट्रसेवक कर्मचारीको मानमर्दन गर्ने कार्यले अत्यन्तै मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ ।
‘कार्यालय समयमै कर्मचारीहरूमाथि आक्रमण हुनु अत्यन्तै खेदजनक कार्य हो, सम्पूर्ण गाउँपालिकाका कर्मचारीहरू यस निन्दनीय कार्यको घोर भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
कर्मचारीहरूले घटनाको दोषीउपर कडा कारवाही गरी गाउँपालिकामा भयरहित र स्वतन्त्र ढंगले कार्यालयका कामहरू सञ्चालन गर्ने वातावरण नबनेसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको जनाएका छन् । ‘यसबाट सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ’, विज्ञप्तिमा उल्लेख छ ।
तर वडाध्यक्ष हुसेनले शिक्षा समितिका विषयमा कुरा उठेपछि सामान्य धकेलाधकेल भएको दाबी गरेका छन् ।
उनले भने, ‘कर्मचारी र मेयरको दबाबमा यो सव भएको हो । घटनालाई चर्चमा ल्याइएको हो । केही बढी बोलियो होला तर पहिले उहाँले बोतल उठाएपछि मैले धकेलेको हो । सामान्य घटना हो ।’
