काठमाडौँ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपाली एक विद्यार्थीको मृत्यु तथा अन्य विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको भन्दै ‘प्रचण्ड’ले तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका हुन् ।
पुर्वप्रधानमन्त्री समेत रहेका ‘प्रचण्ड’ले सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को छात्रावासमा एक नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको छ। मृतक विद्यार्थीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु।’