काठमाडौँ । दोलखाबाट चिनियाँ नाकासम्म त्रिदेशीय सडक सञ्जाल जोडिने भएको छ । सरकारले चालू आर्थिक वर्षभित्रै चीनको सिमानासम्म सडक सञ्जाल जोड्ने प्रक्रिया अघि बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरिदिएपछि छिट्टै टेन्डर आह्वान गर्ने तयारी छ । भिट्टामोड-जलेश्वर-बर्दिबास-खुर्कोट-तामाकोशी-सिँगटी-लामाबगर-लाप्चे सडकलाई बहुवर्षीय योजनामा समेट्दै मन्त्रालयले २० करोड रुपैयाँ बजेट सुनिश्चित गरिसकेको छ ।
सडक डिभिजन कार्यालय चरिकोटका अनुसार चिनियाँ नाका जोड्ने सडकको अहिले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम भइरहेको छ । डीपीआर सकिए लगत्तै टेन्डर प्रक्रिया अघि बढाउने कार्यालयले जनाएको छ ।
यसैबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त सडकको आइतबार स्थलगत अवलोकन गरेका छन् । विगु गाउँपालिका-१ लामाबगरको हुरहुरेसम्मको सडक स्थलगत निरीक्षणपछि योजना कार्यान्वयन अघि बढाउन निर्देशन दिए ।
उत्तर(दक्षिण लोकमार्ग महत्त्वपूर्ण सडक योजना भएकाले आगामी नीति कार्यक्रममा मन्त्रालयले प्राथमिकतामा राखेर अघि बढाउने उनले बताए ।
मन्त्री दाहालसहित पूर्वमन्त्री पार्वत गुरुङ, दोलखाका प्रदेश सांसद भरत केसी, काँग्रेस दोलखाका सभापति बर्मा लामा, सडक विभागका महानिर्देशक रामहरि पोखरेल, सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख इन्जिनियर अमितकुमार श्रेष्ठलगायत सडक अवलोकनमा पुगेका थिए ।