तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडा अध्यक्ष बल बहादुर गुरुङले वडा सचिव नवीन भुसाललाई कार्यस्थलमै कुटपिट गरेको घटनाप्रति ट्रेड युनियनकर्मीहरूले गम्भीर आपत्ति जनाएका छन्। कर्मचारी संगठनहरूले घटनाको कडा शब्दमा भर्त्सना गर्दै सत्य तथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारवाही गर्न माग गरेका छन्।
सार्वजनिक सेवा प्रवाहलाई ऐन-नियमअनुसार सञ्चालन गरिरहेका राष्ट्रसेवक कर्मचारीमाथि कार्यस्थलमै भएको यो अमानवीय आक्रमणले कर्मचारी सुरक्षामा गम्भीर प्रश्न उठाएको कर्मचारी संगठनहरूको भनाइ छ। कार्यालयमा सुरक्षित वातावरण सुनिश्चित गर्न नसक्दा यस्ता घटनाहरू दोहोरिने खतरा रहन्छ भन्दै संगठनहरूले सम्बन्धित निकायलाई तत्काल आवश्यक सुरक्षा प्रबन्ध गर्न आग्रह गरेका छन्।
यसैबीच, कर्मचारी संगठनहरूले वडा सचिव नवीन भुसालको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै भविष्यमा यस्ता घटनाहरू नदोहोरियोस् भन्ने अपेक्षा व्यक्त गरेका छन्।
सम्बन्धित समाचार : वडाध्यक्षले गरे वडा सचिवमाथि कुटपिट
