रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिकामा कार्यरत कर्मचारीहरूले गाउँपालिकाको कार्यकारी बैठकका क्रममा शाखा प्रमुखमाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारबाही नभएसम्म सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका छन्।
सोमबार दिउँसो १२ः१५ बजे गाउँपालिकाको कार्यपालिका बैठक चलिरहेको समयमा शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा प्रमुख मधु प्रसाद घिमिरेलाई आमन्त्रित गरिएको थियो। बैठकमा आफ्नो विचार राख्ने क्रममा वडा नं. २ का वडा अध्यक्ष करम हुसेन खानले घिमिरेलाई गालीगलौज गर्दै भौतिक आक्रमण गरेका थिए।
सम्बन्धित समाचार : वडाध्यक्षले शिक्षा प्रमुखमाथि हातपात परेपछि आन्दोलनमा उत्रिए कर्मचारी
गाउँपालिकाका कर्मचारीहरूका अनुसार वडाध्यक्ष खान यसअघि पनि कर्मचारीहरूमाथि गालीगलौज गर्ने, शाखामा तालाबन्दी गर्ने, अपशब्द प्रयोग गर्ने र दादागिरी देखाउने गर्दै आएका थिए। कार्यालय समयमै कर्मचारीमाथि भौतिक आक्रमण हुनु अत्यन्त निन्दनीय र खेदजनक रहेको भन्दै कर्मचारीहरूले घटनाको घोर भर्त्सना गरेका छन्।
यस्तै, दोषीमाथि कडा कारबाही नभएसम्म गाउँपालिकाबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरिएको कर्मचारी संगठनहरूले बताएका छन्। यसले सेवाग्राहीलाई असुविधा भए पनि बाध्यात्मक निर्णय गरिएको भन्दै कर्मचारीहरूले क्षमा याचना गरेका छन्।