काठमाडौँ । पद्मकन्या क्याम्पस स्ववियु अध्यक्ष ज्योति पनेरु र अस्कल क्याम्पस स्ववियु अध्यक्ष प्रेम जैसीले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का शिक्षाध्यक्ष तथा विद्यार्थी कल्याणकारी परिषद् प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेका छन्। स्ववियु निर्वाचन कार्यविधि पारित गर्दा आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै उनीहरूले विरोध स्वरूप तालाबन्दी गरेका हुन्।
त्रिविले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति तोकेको छ। निर्वाचनका लागि आवश्यक तयारी भइरहेका बेला दुई क्याम्पसका स्ववियु अध्यक्षहरूले त्रिवि नेतृत्वको निर्णयप्रति असहमति जनाउँदै तालाबन्दी गरेका हुन्। उनीहरूले त्रिवि कार्यकारी परिषद्को बैठकले पारित गरेको स्ववियु निर्वाचन कार्यविधि संशोधन गर्नुपर्ने माग राखेका छन्।
कार्यकाल सकिने व्यवस्थाप्रति असहमति
त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गतेबाट स्वतः समाप्त हुने व्यवस्था गरिएको छ। स्ववियु नेताहरूले यो व्यवस्थाले विद्यार्थी संघसंस्थाको स्वायत्तता र निरन्तरतामा असर पार्ने भन्दै विरोध जनाएका छन्। उनीहरूले त्रिविले बिना परामर्श एकतर्फी निर्णय गरेको आरोप लगाएका छन्।
‘उपकुलपति कप’ को आर्थिक प्रतिवेदनबारे असन्तुष्टि
तालाबन्दी गर्ने स्ववियु अध्यक्षहरूले विद्यार्थी कल्याणकारी परिषद्ले आयोजना गरेको ‘उपकुलपति कप’ को आर्थिक प्रतिवेदन सार्वजनिक नगरिएको विषयमा पनि प्रश्न उठाएका छन्। उनीहरूको भनाइ अनुसार, पटक–पटक बैठक माग गर्दा पनि त्रिवि प्रशासनले आर्थिक अनियमितताको विषयलाई ढाकछोप गर्न बैठक नै नराख्ने गरेको छ।
माग पूरा नभएसम्म आन्दोलनको चेतावनी
स्ववियु अध्यक्षहरूले शिक्षाध्यक्ष र विद्यार्थी कल्याण प्रमुखको कार्यकक्षमा गरिएको तालाबन्दी आफ्ना माग पूरा नभएसम्म नखोल्ने चेतावनी दिएका छन्। उनीहरूका अनुसार, स्ववियुको अस्तित्व जोगाउनका लागि त्रिविले लिएको नीतिगत निर्णय संशोधन हुनु आवश्यक छ।
यसअघि, त्रिवि स्ववियु अध्यक्ष श्यामराज ओझा, पुल्चोक इन्जिनियरिङ कलेज स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले समेत विज्ञप्ति जारी गर्दै चैत ४ गते स्वतः पदावधि समाप्त हुने व्यवस्थाको विरोध जनाएका थिए।
विद्यार्थी नेताहरूको यो आन्दोलनले आगामी स्ववियु निर्वाचनमा प्रभाव पार्ने देखिएको छ भने त्रिवि प्रशासनले यस विषयमा के प्रतिक्रिया दिनेछ भन्ने प्रतीक्षा गरिएको छ।
