काठमाडौं । वैदेशिक रोजगारीका लागि सिंगापुर र चेक रिपब्लिक पठाउने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ घर भई काठमाडौँ लाजिम्पाट बस्दै आएका ३७ वर्षीय सरन थापा र इलामको सूर्योदय नगरपालिका-२ घर भइ पेप्सीकोला बस्ने ३२ वर्षीय मिकेश सुवेदी छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये सरनले सिंगापुर पठाइदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७१ लाख १९ हजार रुपैयाँ र मिकेशले चेक रिपब्लिक पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख ५० हजार रुपैयाँ लिई ठगी गरेको आरोप छ ।