काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्ने बताएका छन् ।
जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्न सक्ने बताएका हुन् ।
शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै ‘प्रचण्ड’ले भने, ‘संविधान निर्माणको बेला नै हामीले केही रिजर्भेसन राखेका छौँ। संविधान संशोधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्त्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।’
भेलामा अध्यक्ष ‘प्रचण्ड’ले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताएका छन् ।