काठमाडौँ । प्रतिनिधि सभाले नेपाल प्रहरीसम्बन्धी विधेयक अगाडि बढाउँदै छ । आज (आइतबार) दिउँसो १ बजे बस्ने बैठकबाट यो विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ ।
गृहमन्त्री रमेश लेखकले गत माघ १५ गते यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका थिए । यो विधेयकमाथि सांसदहरूले ५१ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।
सांसदहरूको संशोधन प्रस्तावसहित दफावार छलफलका लागि प्रतिनिधि सभामा सम्बन्धित संसदीय समितिमा पठाउन लागेको हो । यो विधेयक दफावार छलफलका लागि प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा जानेछ ।
यसका अलावा आज प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची पनि छ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्तुत गर्नेछन् ।