काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्थगन गरेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिएका छन् ।
डोनाल्ड ट्रम्पको कार्यकारी आदेशबाट स्थगन हुन पुगेको एमसीसी कम्प्याक्टले नेपाली जनताको संघर्ष र आवाजमा सकारात्मक प्रभाव पारेको छ । यसका लागि हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ’ आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
विञप्तिमार्फत महासचिव सीले एमसीसी परियोजना सधैँका लागि खारेज गर्न आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एमसीसी कम्प्याक्टलाई सधैँको लागि खारेज गरी नेपाल र अमेरिका बीचको कूटनीतिक सम्बन्धलाई प्रगाढ बनाउन र नेपालको विकासमा निःस्वार्थ योगदान गर्न नयाँ विकास परियोजना मार्फत सहयोग अगाडि बढाउन आग्रह गर्दछौँ ।’