काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अमेरिकी सहयोग परियोजना (एमसिसी) नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) को संयुक्त सरकार बनेको बेलामा हस्ताक्षर गरिएको बताएका छन् ।
अर्थ समितिको आइतबारको बैठकमा उनले केही दिनअघि एक जना सांसदले कसको पालामा हस्ताक्षर भएको हो ? भन्ने प्रश्न गरेको भन्दै आफू अर्थमन्त्री रहेको समयमा माओवादी र काँग्रेसको संयुक्त सरकारको तर्फबाट आफूले हस्ताक्षर गरेको बताएका हुन् ।
समितिको अघिल्लो बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कसको पालामा हस्ताक्षर भएको भन्दै प्रश्न गरेका थिए ।
सोही प्रश्नको जवाफ दिँदै उनले एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल सबैले एमसीसी परियोजना अघि बढाएको बताए ।
‘एक जना माननीयज्यूले यहाँ बोल्नुभयो । एकदम भाइरल बनेर आएको छ । एमसीसीको बारेमा बोल्नुभयो । एमसीसी बाबुराम भट्टराईदेखि पुष्पकमल दाहाल जसले जसले सरकारको नेतृत्व गर्नुभयो, सबैले एमसीसी अघि बढाउनुभएको थियो,’ उनले भने, ‘एमसीसीको कसले सही गरेको भन्नुभयो । मैले सही गरेको हो । तर संयोगले सही गर्दा माओवादी र हाम्रो संयुक्त सरकार थियो । अनि त्यसलाई अनुमोदन संसदले गरेको हो ।’
सरकारको नेतृत्व गर्नेहरू सबैले एमसीसी परियोजना अघि बढाएको भन्दै संसदबाट एमसीसी अनुमोदन भएको पनि उनले बताए ।
अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा दिने अनुदानहरूको बारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोल्नुभएको कुरामा गम्भीर भएर छलफल गर्नुपर्ने उनको भनाइ थियो ।
‘यी सबै विषयलाई कसरी प्रस्तुत गर्ने, समीक्षा गर्ने त्यसको पनि समीक्षा गरौँला । अमेरिकाको राष्ट्रपतिले के सन्दर्भमा भनेका छन्, त्यो सन्दर्भका निमित्त पनि हामीले गम्भीर भएरै छलफल गर्नुपर्छ । अन्तर्राष्ट्रिय जगतमा दिने एडको सन्दर्भमा अमेरिकन सरकारले जे किसिमको नीति बनाउँछ, सिनेटले त्यसबाट पारित भएका कुराहरू अनुसार नै अघि बढ्ला,’ कार्कीले भने ।