कञ्चनपुर । महेन्द्रनगर- कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमति पत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेदकोट नगरपालिका– ६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट-५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिइन् ।
उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरूको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका-६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको निरीक्षक जोशीले बताइन् । उनीहरूले अरु दुई जनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए ।
पक्राउ परेका दुवै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताए । कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको प्रमुख भट्टले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं निरीक्षक जोशीले पक्राउ परेकाहरूको बारेमा थप अनुसन्धान भइरहेको बताए । ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,” निरीक्षक जोशीले भनिन् “अनुसन्धान सकिएपछि मात्रै उनीहरूलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।”