काठमाडौँ । अवैध सुन चाँदी कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा चार जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र प्रदेश सोलापुर घर भएका हाल काठमाडौँ महानगरपालिका-२४ नरदेवी बस्ने ४२ वर्षीय एकनाथ दशरथ खाडेकर, १९ वर्षीय वैभव घुतुगेड, २९ वर्षीय सम्राट यादव र ४० वर्षीय दिनेश मेहेति रहेका छन् ।
उनीहरूलाई काठमाडौँ महानगरपालिका-२४ स्थित घरमा अवैध रूपमा भन्सार छली तथा निकासी पैठारी गरी ल्याइएको सुन र चाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
उनीहरूको साथमा विभिन्न स्वरूपमा रहेका सुन जस्तो देखिने धातुका टुक्राहरू २ सय ४७ ग्राम ७ सय २० मिलिग्राम, चाँदी जस्तो देखिने धातुका टुक्राहरू ५ किलो ६ सय ग्राम र नगद १० लाख ७५ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ ।
हाल पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागी त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।