काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केबलकार परियोजनासँग सम्बन्धित विवाद समाधानका लागि सरकारद्वारा पुनः वार्ताको पहल गरिएको छ। गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले सोमबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेको छ।
यसअघि, गत शुक्रबार पनि वार्ता टोलीले आन्दोलनरत पक्षलाई वार्तामार्फत समाधान खोज्न अपिल गरेको थियो। तर, आन्दोलनरत पक्षको मौनताका कारण वार्ता निष्कर्षमा पुग्न सकेको छैन।
सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विषयमा उठेका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय सरोकारका विषयहरू समाधानका लागि वार्ता टोली गम्भीर छ। तसर्थ, आन्दोलनरत पक्षलाई संवादमार्फत सहमति खोज्न वार्तामा आउन हार्दिक अपिल गर्दछ।”
गृह मन्त्रालयको पहलमा वार्ता टोली र आन्दोलनरत पक्षबीच २०८१ माघ २२ गते भएको छलफलमा ६ बुँदे सहमति जुटाइएको थियो। त्यसैको आधारमा समस्या समाधानका लागि थप संवाद अघि बढाइएको छ। माघ २७ गते भएको पछिल्लो बैठकमा पनि गम्भीर छलफल भए तापनि टुंगोमा पुग्न सकेको छैन।
वार्ता टोलीले पटक–पटक संवादका लागि अपिल गरे पनि आन्दोलनरत पक्षले अझै स्पष्ट धारणा सार्वजनिक गरेको छैन। सरकार भने वार्ता र सहमतिमार्फत विवाद समाधान गर्ने पक्षमा रहेको बताएको छ।