काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खाली रहेका स्थानीय तहमा एक हप्ताभित्रै अधिकारी पठाइने बताएका छन्।
संसद् भवन परिसरमा सोमबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले काठमाडौँ महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरिने स्पष्ट पारे।
‘महानगर मेरो पनि हो। संघीय मामिला मन्त्रालयको एउटा कार्यालय हो। मेयर को हुनुहुन्छ भन्ने कुरा पछि आउँछ। प्रमुख प्रशासकीय अधिकृत पठाउने जिम्मेवारी मेरो हो,’ उनले भने।
उनका अनुसार लोक सेवा आयोगबाट बढुवा भएका सहसचिवहरू हाल तालिममा रहेका कारण केही दिनभित्र प्रमुख प्रशासकीय अधिकृतहरू खटाइने छन्। ‘उहाँहरूको तीन दिनको तालिम बाँकी छ। त्यसपछि काठमाडौं महानगरसहित प्रशासकीय प्रमुखविहीन रहेका महानगर र उपमहानगरमा पठाइन्छ,’ मन्त्री गुप्ताले थपे।
४७ दिनदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन महानगर
काठमाडौँ महानगरपालिकाले २४ पुसमै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई प्रमुख प्रशासकीय अधिकृत माग गर्दै पत्र लेखेको थियो। तर, ४७ दिन बितिसक्दा पनि सरकारले नयाँ अधिकारी पठाएको छैन।
गत ५ पुसमा आकस्मिक पत्रकार सम्मेलन गर्दै महानगर प्रवक्ता नवीन मानन्धर र मेयर बालेन साहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले प्रक्रिया पूरा नगरी काठमाडौं टावरको नक्सा स्वीकृत गरिएको आरोप लगाउँदै त्यसमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको भूमिका शंकास्पद रहेको बताएका थिए।
विवाद चुलिएपछि गुरागाईँलाई बिदामा बस्न भनियो। उनी ८ पुसदेखि १७ पुससम्म बिदामा बसे। त्यसपछि कार्यालय फर्किन खोज्दा बालेनको सचिवालयले उनको कार्यकक्षमै ताला लगाइदियो। त्यसयता उनी कार्यालय फर्किन सकेका छैनन्।
गुरागाईँलाई रोकिएपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत बनेका गोविन्दप्रसाद शर्माले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिए। त्यसपछि वरिष्ठ कर्मचारी नुरनिधि न्यौपानेलाई जिम्मेवारी दिइयो, तर संघीय सरकारले खटाएको कर्मचारीलाई मात्रै आर्थिक अधिकार हुने भएकाले उनी प्रशासनिक नेतृत्वमा मात्रै सीमित छन्।
सरकारले प्रमुख प्रशासकीय अधिकृत पठाउन ढिलाइ गर्दा काठमाडौँ महानगरपालिकाको प्रशासनिक कार्य प्रभावित भइरहेको छ।