काठमाडौँ । बीमा कम्पनीहरूको नियामक निकाय बीमा प्राधिकरणको अध्यक्षमा पत्रकार शरद ओझा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।
अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले ओझासहित पूर्व सचिव रामशरण पुडासैनी र स्वास्थ्य बीमा बोर्डका पूर्वअध्यक्ष दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो।
यसअघि प्राधिकरण अध्यक्ष रहेका सूर्यप्रसाद सिलवालविरुद्ध २४ मंसिरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी स्वतः निलम्बनमा परेका थिए।
अख्तियारको दाबीअनुसार सिलवालले नागरिकताको जन्म मिति परिवर्तन गरी आफ्नो पदावधि लम्ब्याएका थिए। जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जारी नागरिकतामा उनको जन्म मिति २२ कात्तिक २०१६ रहेको देखिएको थियो, जबकि त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा भने १५ साउन २०१५ उल्लेख छ।
सिलवाल निलम्बनमा परेपछि रिक्त रहेको प्राधिकरण अध्यक्ष पदमा सरकारले शरद ओझालाई नियुक्त गरेको हो।