काठमाडौँ। सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरणको अनुसन्धानका लागि सशस्त्रकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् ।
ब्यारेकमै झुन्डिएको अवस्थामा मृत भेटिएकी इन्स्पेक्टर सन्तोषी महत आत्महत्या दुरुत्साहन प्रकरणमा जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
सन्तोषीको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दिएपछि उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।
१६ बेसिकका इन्सपेक्टर जोशी २३ नं.गण तनहुँमा कार्यरत छन् । जोशी र सन्तोषी प्रेमी–प्रेमिका रहेको परिवारको दाबी छ । उनकै कारण सन्तोषीले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।
यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
इन्स्पेक्टर बेसिकको तालिम गर्दै आएकी सिन्धुपाल्चोककी महत पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन आइतबार ब्यारेकमा मृत भेटिएकी थिइन् ।