काठमाडौँ । काठमाडौँ महानगरले ७३ जना बालबालिकालाई उद्धार गरेको छ । देशको राजधानीमा नै बालबालिका जोखिममा रहेका छन् ।
महानगरपालिकाले बालबालिकाहरूको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटेल रेस्टुरेन्ट तथा होस्टेलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरूले बालबालिकाको अवस्था जोखिममा रहेको बताएका हुन् ।
काठमाडौँ महानगरपालिका बाल अधिकार समितिका अनुसार महानगरभित्र ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिसकेको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा रहेका छन्।
३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । यस्तै उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुर्व्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय रहेको छ ।
पछिल्लो २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको समितिले बताएको छ ।
जोखिममा रहेका बालबालिकाहरूको खोज तथा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलनलगायत शृङ्खलामा दायित्व भएका निकायसँगको समन्वय अभ्यास समीक्षा गर्दै काठमाडौँ महानगरपालिकाले यसलाई थप प्रभावकारी बनाउन काम समेत थालेको छ।
महानगरका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन भएको छ।