काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृह परिसरमा ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्ने भएको छ ।
बिहीबार पत्रकार सम्मेलनमा प्रवक्ता नवीन मानन्धरले प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा फागुन १६ र १७ गते ‘काठमाडौं शैक्षिक मेला २०८१’ आयोजना गर्न लागिएको जानकारी दिएका हुन् ।
विद्यालय शिक्षालाई वैज्ञानिक र व्यवहारिक तथा विद्यार्थीको रुचि र अभिभावकहरूको चाहनाअनुरूप सञ्चालन गर्नका लागि सामुदायिक विद्यालयबाट विभिन्न कार्यक्रममार्फत प्रयास थालिएको बताए । ‘विद्यार्थीहरूमा परेको प्रभाव, यसबाट उनीहरूले सिकेका ज्ञान र सिपहरूको प्रस्तुति तथा प्रदर्शनीका लागि मेला आयोजना गर्न लागिएको हो । कार्यक्रम सञ्चालन तथा व्यवस्थापनमा सहभागी विद्यालय र संघसंस्थाहरुसँग सहकार्य हुनेछ । विद्यालय शिक्षाको नवप्रवर्तन तथा स्तरोन्नतिका लागि मेलाले कोशेढुंगा स्थापित गर्ने, आगामी कार्यक्रमका लागि आयामिक पृष्ठपोषण प्रदान गर्ने अपेक्षा लिइएको छ ।’ उनले भने
उनका अनुसार महानगरपालिकाले शैक्षिक गुणस्तर सुधारसँगै बालबालिकाको शैक्षिक, शारीरिक, मानसिक, चारित्रिक विकास, विद्यालयको पूर्वाधार, शिक्षकहरूको क्षमता विकासलगायतका कार्यक्रमको बिम्ब मेलामा समेटिनेछन् । मेला आयोजनाका लागि महानगरपालिकाको सहरी योजना आयोग, शिक्षा विभाग, स्रोत शिक्षक, प्रधानाध्यापक र शिक्षकहरूले सहजीकरण गर्नुहुनेछ । प्रस्तुति र प्रदर्शनीको मुख्य भूमिकामा विद्यार्थीहरू नै हुनेछन् ।
यस्तै, प्रदर्शनी तथा प्रस्तुतिमा विद्यार्थीहरूले नवीनतम सिकाइ गतिविधि प्रदर्शन गर्नेछन् । बुक फ्री फ्राइडेअन्तर्गतका ३५ वटा शैक्षिक उपसमूहका स्टलमार्फत रुचि र नतिजा प्रदर्शन गर्नेछन् । शिक्षक, विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा स्वदेशी एवं विदेशी पाहुनाकालाई अवलोकनका लागि निमन्त्रणा गरिएको मेलामा सामुदायिक विद्यालयहरूले दिवा खाजाका रूपमा ३० रुपैयाँमा उपलब्ध गराउने खाजा १० वटा स्टलबाट सबैलाई ३० रुपैयाँमा नै उपलब्ध गराइनेछ । यस्तै नेपाल भाषा, मौलिक संस्कृति, भेषभूषा झल्काउने प्रदर्शनी, मौलिक वादन तथा गायन प्रस्तुति समावेश गरिनेछ ।
कार्यक्रमका ३ चरणमध्ये फेस्ट पहिलो चरणको कार्यक्रम हो । दोस्रो चरणमा चालु शैक्षिक सत्रको अन्तिम बुक फ्री फ्राइडेका दिन (२०८१ फागुन २३ गते) साझेदार र सरोकारवालाले आफू नजिकको सामुदायिक विद्यालयका कार्यक्रम अवलोकन गराउने योजना बनाइएको छ ।
महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालयमा ६१ हजार ३२९ जना विद्यार्थी र ५२४ वटा संस्थागत विद्यालयमा २ लाख १० हजार ९३४ जना गरी २ लाख ७२ हजार २६३ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालय शिक्षाको विकास, स्तरोन्नति र गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले महानगरपालिकाले अहिले अनुसन्धानमा आधारित लगानी बढाएको छ । जसबाट प्रारम्भिक बाल विकास सुधार, पूर्वाधार विस्तार, शिक्षक क्षमता अभिवृद्धि, शैक्षिक सामग्रीको उपलब्धता र उपयोगिता अभिवृद्धि, शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग, बुक फ्री फ्राइडे (एकीकृत सिकाइ, सिर्जनात्मक सिकाइ र शिक्षामा सिप) टिचर कलेज प्रोग्राम, नतिजा सुधार कार्यक्रमहरू सञ्चालन भइरहेका जानकारी दिए ।
विद्यालयको पूर्वाधार र शैक्षिक वातावरणका लागि बहु वर्षे कार्यक्रमअन्तर्गत महानगर गौरव योजनामा ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम कार्यान्वयनमा छ । यस्तै, नियमित र प्राथमिकतामा राखिएको महानगर स्वर्णिम योजनाअन्तर्गत ‘सुन्दर विद्यालय परियोजना’ र ‘रचनात्मक विद्यालय’ कार्यान्वयनमा ल्याइएका छन् ।
यसरी सञ्चालन गरिएका कार्यक्रमबाट सैद्धान्तिक शैक्षिक कार्यक्रमलाई प्रयोगात्मक र व्यवहारिक बनाएर समय सापेक्ष र उत्तरदायी नागरिक उत्पादनमा योगदान गर्ने महानगरपालिकाको लक्ष्य रहेको छ ।