काठमाडौँ । पाथीभरा-मुक्कुमलुंग क्षेत्रमा देखिएको विवाद वार्ताका माध्यमबाट समाधान गर्न कोशी प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूले सरकारलाई सुझाव दिएका छन् ।
गृहमन्त्री रमेश लेखकसँग आज भएको छलफलका क्रममा सांसदहरूले विकास निर्माण गर्दा पनि सबै पक्षको सहमति लिन आवश्यक भएकाले आन्दोलनरत पक्षलाई पनि मनाएर निर्माण गर्न सरकारलाई सुझाव दिएका हुन् ।
पाथीभरा मुक्कमुलुंग क्षेत्रमा केबलकार निर्माण सुरु भएपछि नो केबलकार पक्षले आन्दोलन गर्दै आएको छ । आन्दोलन हिंसात्मक बन्दै गएपछि गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका प्रतिनिधि सभाका सदस्यहरूसँग आज छलफल गरेका थिए ।
छलफलमा सहभागी नेकपा एमालेका सांसद भीम आचार्यले केबलकार निर्माण गर्न आवश्यक भए पनि आन्दोलनरत पक्षलाई पनि सहमतिमा ल्याएर निर्माण गर्नु पर्ने धारणा राखे ।
गृहमन्त्रीसँग छलफल गर्न १८ जना प्रतिनिधि सभा सदस्यहरू पुगेका थिए ।
छलफलमा सहभागी नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले लगानीको वातावरण बिग्रन नदिई सबै पक्षसँग छलफल गरेर काम अगाडि बढाउनु पर्ने गृहमन्त्रीलाई सुझाव दिए ।
उनले वार्ता टोली गठन भएकाले यसलाई राजनीति करण नगर्न सुझाव दिए ।
छलफलमा सहभागी सत्ता पक्षकै धेरै जसो संघीय सांसदहरूले आन्दोलनरत पक्षको माग नसुनी केवलकार निर्माण गर्न नहुने बताए ।
केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विवादले उग्र रूपमा लिएपछि अहिले स्थगित भएको छ । पटक पटक वार्ता गरे पनि अहिलेसम्म निकास भेटिएको छैन। यसअघि पनि गृहमन्त्रीले कोशीका चार जिल्लाका सांसदहरूसँग छलफल गरेका थिए ।