काठमाडौँ । लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मीले प्रदेश लोक सेवा आयोगको औचित्यमाथि प्रश्न उठाएका छन्।
राष्ट्रिय सभाअन्तर्गत संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार लोक सेवा आयोगको वार्षिक प्रतिवेदनबारे छलफलका क्रममा उनले प्रदेश लोकसेवा आयोग आवश्यक छन् कि छैनन् भन्ने विषय विचारणीय रहेको बताए।
उनले संघीय लोकसेवा आयोगका क्षेत्रीय कार्यालयहरू प्रदेश स्तरमै कार्यरत रहेको र त्यही बीच प्रदेश लोकसेवा आयोगहरू पनि गठन भइसकेकाले काम दोहोरिएको संकेत गरे। “सरसर्ती हेर्दा काममा दोहोरोपन (डुप्लिकेसन) देखिन्छ, प्रदेश लोकसेवा आयोगहरू आवश्यक छन् कि छैनन् भन्ने प्रश्न उब्जिएको छ,” रेग्मीले भने।
उनले यो विषय प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा पनि उठेको उल्लेख गर्दै एक सांसदको प्रश्न स्मरण गरे। “प्रदेश लोक सेवा आयोग गठन भइसकेपछि संघीय लोक सेवा आयोग खारेज हुनुपर्ने होइन ?” भन्ने जिज्ञासा आएको सुनाउँदै उनले यसको उल्टो पक्षबाट सोच्नुपर्ने धारणा राखे।
“मैले सोधेँ, संघीय लोक सेवा आयोगका कार्यालयहरू सातै प्रदेशमा क्रियाशील रहँदा पनि प्रदेश लोक सेवा आयोग किन आवश्यक पर्यो ? यसबारे सोच्न जरुरी छ,” उनले भने।