काठमाडौँ । नेपाल भ्रमणमा रहेको एसियाली विकास बैंक (एडीबी) का प्रमुख अर्थशास्त्री तथा आर्थिक अनुसन्धान एवं विकास प्रभाव विभाग महानिर्देशक अल्बर्ट पार्कले नेपालले पछिल्ला दुई दशकमा प्रशंसनीय हिसाबले गरिबी निवारण गरेको बताएका छन् ।
चार दिने नेपाल भ्रमणमा आएका पार्कले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा यस्तो बताएका हुन् ।
गरिबी न्यूनीकरणमा उल्लेखनीय उपलब्धि हासिल गरे पनि दिगो तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने दिशामा रहेका चुनौती पनि उनले औँल्याएका छन् ।
नेपाल रेमिट्यान्समा आधारित अर्थतन्त्रबाट उत्पादकत्व र रोजगारी सिर्जनामा केन्द्रित अर्थतन्त्रतर्फ लाग्नुपर्ने उनले बताए ।
‘नेपालको प्राथमिकतामा वैदेशिक लगानी, पूर्वाधार सुधार, प्रविधि विस्तार, नेपाललाई विश्व बजारसँग एकीकरण तथा निर्यात वृद्धि गर्नुपर्छ,’ उनले भने ।
शुक्रबार नै नेपाली पत्रकारसँग कुराकानी गर्दै उनले व्यापार, आप्रवासन तथा आर्थिक नीतिहरूमा अमेरिकाका सम्भावित परिवर्तनको असर सन् २०२५ को पछिल्ला महिना देखिने बताए । ‘अर्को वर्ष अर्थात् २०२६ मा ती नीतिको अझै ठूलो प्रभाव देखिन सक्छ,’ उनले भने ।
२०२५ मा पनि दक्षिण एसिया विश्वको सबैभन्दा तीव्र आर्थिक वृद्धि भएको क्षेत्र बन्ने प्रक्षेपण रहेको उनले बताए ।
‘सन् २०२५ मा विकासशील एसियाको आर्थिक वृद्धि ४.८ प्रतिशत हुनेछ,’ उनले भने, ‘दक्षिण एसियाको समग्र आर्थिक वृद्धि त्यसभन्दा धेरै ६।३ प्रतिशत हुँदा नेपालको भने ४.९ प्रतिशत हुने प्रक्षेपण छ ।’