काठमाडौँ। कर्णाली प्रदेशका दुई प्रमुख विमानस्थलको स्तरोन्नति तथा विस्तारका लागि प्रक्रिया अघि बढेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सुर्खेत, जुम्ला र दाङ टरीगाँउको विमानस्थलका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया अघि बढाएको छ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार विमानस्थल स्तरोन्नतिका लागि कुल १६ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
जसमध्ये जुम्ला विमानस्थलका लागि १ अर्ब, दाङ टारीगाँउ विमानस्थल जग्गा अधिग्रहण कार्यका लागि ५ अर्ब र सुर्खेत विमानस्थल जग्गा अधिग्रहण कार्यका लागि १० अर्ब रुपैयाँको आवश्यकताको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ।
मन्त्रालयले हवाई सेवा सुधार तथा क्षेत्रीय हवाई कनेक्टिभिटी विस्तारलाई प्राथमिकता दिँदै विमानस्थलहरूको स्तरोन्नति गर्न लागेको हो।
सुर्खेत विमानस्थललाई क्षेत्रीय स्तरको हवाई केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना रहेको छ।
स्थानीय सरोकारवालाहरूले विमानस्थल स्तरोन्नतिले कर्णाली प्रदेशको समग्र विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
कर्णालीमा यातायातको सीमित पहुँच रहेको अवस्थामा हवाई सेवा स्तरोन्नतिले पर्यटन, व्यापार, र स्थानीयवासीको आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ।
सरकारको यो निर्णयले कर्णाली प्रदेशको विकास र समृद्धिमा योगदान पुर्याउने भन्दै सरोकारवाला निकायहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका छन्।
अब स्रोत सुनिश्चित भएपछि स्तरोन्नतिको काम अघि बढ्ने अपेक्षा गरिएको छ।