काठमाडौँ । गृह मन्त्रालयले करिब एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवाको तयारी गरेको छ। यस क्रममा रिक्त जिल्लाहरूमा नयाँ प्रजिअ खटाउनुका साथै केही दिनअघि मन्त्रालयमा सरुवा भएका सहसचिवहरूको पदस्थापन गर्ने प्रक्रिया अघि बढाइएको छ।
प्रशासन सिंहदरबार विशेष ब्युरोले प्राप्त जानकारीअनुसार गृह मन्त्रालयले सहसचिवको दरबन्दीमा खटाइएका उपसचिवहरूलाई फिर्ता गरी ती स्थानमा सहसचिवहरूलाई नै नियुक्त गर्ने भएको छ। दरबन्दीअनुसार सहसचिवहरूले जिम्मेवारी पाउनुपर्नेमा केही स्थानमा उपसचिवहरूलाई पठाइएको थियो। तर, यस निर्णयको चौतर्फी आलोचना बढेपछि मन्त्रालयले दरबन्दीअनुसारकै कर्मचारी खटाउने प्रक्रिया अघि बढाएको छ।
गृहमन्त्री केही दिनका लागि उपत्यका बाहिर जाने भएकाले सरुवा प्रक्रिया आज रातिसम्मै टुङ्ग्याउने प्रयास भए पनि क्याबिनेटका कारण समय अभावसँगै सम्भवतः भोलि बिहानै निर्णय टुङ्ग्याउने तयारी रहेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।
सहसचिव दरबन्दी भएका जिल्लाहरू रामेछाप, अर्घाखाँची, प्युठान, दैलेख, बैतडी, अछाम, सल्यान, डडेलधुरा, जुम्ला र डोटी जिल्लामा उपसचिवहरू कार्यरत छन्। गृह मन्त्रालयले ती जिल्लामा क्रमशः सहसचिवहरू खटाउने योजना बनाएको छ।
सम्भवतः भोलि नै सबैलाई एकै पटक फिर्ता गरी सहसचिव पठाइनेछ। अन्यथा, चरणबद्ध रूपमा पहिले खटाइएका प्रजिअ(उपसचिव)हरू फिर्ता गरी नयाँ सहसचिवहरू पठाइने तयारी भइरहेको छ।
गृह मन्त्रालयलाई सहसचिव व्यवस्थापन गर्न चुनौती
हाल बाँके, रौतहट, खोटाङ र ओखलढुङ्गामा प्रजिअको दरबन्दी रिक्त छ। गृह मन्त्रालयमा ११ जना सहसचिवका दरबन्दी रिक्त रहेको अवस्थामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १६ जना सहसचिव पठाएपछि व्यवस्थापन गर्न चुनौती थपिएको छ। सबै रिक्त पदहरू व्यवस्थापन गर्दा पनि अझै आधा दर्जन सहसचिवहरूलाई बरन्डा (अतिरिक्त) राख्नुपर्ने स्थिति छ।
हाल गृह मन्त्रालयमा भविश्वर घिमिरे, प्रेम प्रसाद लुईटेल, लक्ष्मण ढकाल, दिल कुमार तामाङ, दिव्यराज पोखरेल, धर्मराज जोशी, बलराम रिज्याल, सुरेन्द्र पौडेल, ईश्वरी प्रसाद अर्याल, नरहरी घिमिरे, माधव प्रसाद पोखरेल, आनन्द सारू, कुमानसिंह गुरुङ, दिपकराज नेपाल, विजयराज सुवेदी, जगदीश्वर उपाध्याय र शशिधर घिमिरे पदस्थापनको पर्खाइमा छन् ।