काठमाडौँ । सरकारले सहसचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव देवकोटालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार विशेष ब्युरोलाई जानकारी दिए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले स्वास्थ्य सेवातर्फ रिक्त सचिव पदमा बढुवाका लागि देवकोटासहित डा। संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
सम्बन्धित समाचार: स्वास्थ्य सचिवमा तीन जनाको नाम सिफारिस
साता दिन भन्दा बढी समय खाली रहेको सचिव बढुवाका लागि निकै ठूलो रस्साकस्सी चलेको थियो । ठुलै दौडधुपकाबीच स्वास्थ्य मन्त्रालयले सचिव पाएको छ ।
सम्बन्धित समाचार: स्वास्थ्य सचिव नियुक्तिको रस्साकस्सी: कसले मार्ला बाजी ?
स्वास्थ्य मन्त्रालयलाई सबैभन्दा महत्वपूर्ण मन्त्रालय मानिन्छ, तर हाल यसको व्यवस्थापन भद्रगोल अवस्थामा छ। यसलाई सुधार गर्नु अनुभवी र कार्यक्षमतामा अब्बल भनिएका सचिव डा. देवकोटाका लागि पहिलो परीक्षा हुनेछ। आफ्नै कर्मचारी व्यवस्थापनमा समेत कमजोर देखिएको मन्त्रालय पछिल्लो समय स्वास्थ्य उपकरण खरिदमा विवादित बन्दै आएको छ।
स्वास्थ्यकर्मीहरूको वृत्ति विकास, सेवा सुविधा तथा स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रभावकारी कदम चाल्न नसकेको गुनासो रहँदै आएको छ। यस्तो अवस्थामा डा. देवकोटा कसरी अघि बढ्छन् भन्ने विषय जिज्ञासाको केन्द्रमा छ, जसको मूल्यांकन गर्न केही महिना कुर्नै पर्नेछ।