काठमाडौँ । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय सरकारले गरेको छ। बुधबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयलाई सिफारिस समिति गठन गर्न स्वीकृति दिएको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आगामी चैत २४ गते पूरा हुँदैछ। उनलाई २०७६ चैत २४ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा पाँच वर्षका लागि गभर्नरमा नियुक्त गरिएको थियो।
नयाँ गभर्नर नियुक्तिका लागि गठिन सिफारिस समिति अर्थमन्त्रीको संयोजकत्वमा रहनेछ। समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ, जसबाट मन्त्रिपरिषद्ले एक जनालाई गभर्नर नियुक्त गर्ने व्यवस्था छ।
यसैबीच, वर्तमान गभर्नर अधिकारी पुनः नियुक्त हुने आकांक्षामा रहेको बताइन्छ। तर स्रोतका अनुसार यसपटक गभर्नर पद नेपाली काँग्रेसको भागमा पर्ने सम्भावना बलियो छ, किनकि हाल काँग्रेस-एमाले गठबन्धन सरकार रहेको छ। नयाँ गभर्नर बन्नका लागि हालका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रले लबिङ थालेका छन्।