काठमाडौँ । नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौँको तार्केश्वर नगरपालिका वडा नं. ५ लोलाङ हाइट बस्ने २७ वर्षीय नारायणदत्त खकुराल रहेका छन् ।
प्रहरीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा वैदेशिक रोजगारमा रहेका व्यक्तिहरूको पहिचान गरी प्रोफाइल भिजिट गर्नुको साथै उनीहरूको आफन्तहरूको समेत विवरण राखी नक्कली फेसबुक आइडी बनाएर उक्त फेक आइडीमा विदेशमा रहेका व्यक्तिहरूकै फोटो अपलोड गरी उक्त आइडीबाट आफन्तहरूसँग प्यासेन्जरमा म्यासेज पठाउने गरेको पैसा माग्ने गरेको पाइएको छ ।
प्रहरीका अनुसार उनले आफू र आफ्नो साथी बिरामी भई अस्पतालमा भर्ना भएको र आफूलाई रकमको आवश्यकता परेकोले मेरो साथीको क्युआर मा रकम पठाउनु भनी विभिन्न व्यक्तिहरूसँग रकम माग गरी उपत्यकाको विभिन्न पसलहरूमा गई आफ्नो मान्छे बिरामी भई अस्पतालमा भर्ना भएको र आफन्तले उपचारको लागि रकम पठाई दिँदै छ, मेरो कुनै पनि बैंक खाता छैन भनी हजुरको खातामा पैसा आउँछ सो पैसा राखी मलाई नगद रकम दिनु भनी उक्त पसलहरूको क्युआर कोड पठाई उक्त क्युआरमा रकम हाल्न लगाई पसलहरूबाट नगदै रकम लिई ठगी गर्दै हिँड्ने गरेको पनि खुल्न आएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको टोलीले बुधबार लोलाङ हाइटबाट पक्राउ गरी उनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ । ।
उनको साथबाट अप्पो कम्पनीको निलो रङको १ थान मोबाइल र बा ५८ प २७७५ नम्बरको १५० सिसि भएको कालो रङको पल्सर मोटरसाइकल पनि प्रहरीले बरामद गरेको अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक जीकुमार आचार्यले जानकारी दिएका छन् ।