काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले अत्यावश्यक परेका बेला अध्यादेश ल्याउन सक्ने भन्दै संवैधानिक व्यवस्थाअनुसार अध्यादेश आएको बताएका छन् ।
राष्ट्रिय सभा बैठकमा आज सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री गुरुङले सो दाबी गरेका हुन् ।
“अध्यादेशको विषयवस्तुमा छलफल गरौँ, त्यसमा सरकारलाई सुझाव दिउँ, संवैधानिक व्यवस्थाअनुसार ल्याएको अध्यादेशमा विरोधका लागि विरोध मात्र गरिनु हुन्न ।”
देशमा सुशासन कायम गर्न, मुलुकको विकासका लागि सरकारले अध्यादेश ल्याएको प्रष्ट पार्दै मन्त्री गुरुङले भने, “हाम्रो देशको पुँजीगत खर्चको के अवस्था छ, हामी सबैलाई जानकारी छ, त्यो खर्च हुन नसकेर विकासको काम रोकिएको छ । अध्यादेशले त्यसलाई सम्बोधन गर्नेछ ।”
जनताको समस्या छिटो समाधान गर्न र सरकारको काम चुस्त बनाउने गरी अध्यादेश आएको जानकारी दिँदै मन्त्री गुरुङले अध्यादेश पारितपछि केही ऐन परिमार्जन भई सरकारको काम प्रभावकारी हुने उनले विश्वास दिलाएका छन् ।