काठमाडौँ । गण्डकी प्रदेश सभाको बिहीबार भएको सातौँ अधिवेशन अन्तर्गतको चौथो बैठकमा चार विधेयक पेश भएका छन्।
सभामा उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसायी ऐन’लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा लैजाने प्रस्ताव पेश गरे।
सभामा मुख्यमन्त्रीको तर्फबाट सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ‘प्रदेश निजामती सेवा ऐन २०७५’ लाई संशोधन गर्न बनेको अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक सभासमक्ष प्रस्तुत गरे। सरकारले यसअघि ल्याएको अध्यादेशलाई प्रतिस्थापन गर्न यो विधेयक ल्याइएको हो।
बिहीबारै बैठकमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ‘गण्डकी प्रदेशमा विद्युत् विकास गर्न बनेको विधेयक’ प्रस्तुत गरे। सभामा उनले ‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत-सम्भार व्यवस्था गर्न बनेको विधेयक’ पनि पेश भएको छ।
बैठकमा अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले ‘गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’को प्रतिवेदन सभामा प्रस्तुत गरे विधेयकमाथि विभिन्न समितिमा छलफल भएपछि प्रतिवेदनसहित विधेयक सदनमा प्रस्तुत भएको हो।