काठमाडौँ । राजीव गुरुङ ‘दीपक मनाङे’को कैद सजायमा २० प्रतिशत छुट दिन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।
जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई बाँकी सजायको २० प्रतिशत छुट दिन आदेश दिएको हो ।
दीपकुमार श्रेष्ठका अनुसार मनाङेले फागुन १२ गते मुलुकी ऐन दण्ड सजायको ४१ (क) अनुसार २० प्रतिशत छुटका लागि अदालतमा निवेदन दिएका थिए । सोही निवेदनअनुसार २० प्रतिशत छुट दिन आदेश दिएको छ ।
मुलुकी ऐन दण्ड सजायको ४१ (क)मा अन्तिम फैसला भएको ६० दिनभित्र अदालतमा आत्मसमर्पण गरेमा कैद र जरिवानामा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार मनाङेले २० प्रतिशत सजाय छुट पाएको सूचना अधिकारी श्रेष्ठले बताए ।
गत कात्तिक २० मा मनाङेलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । कात्तिक २७ गते मनाङे अदालतमा उपस्थित भएका थिए ।
उनलाई अदालतले ५ वर्षको सजाय सुनाएको थियो । यसअघि उनले २ वर्ष ८ महिना जेल जीवन बिताइसकेका कारण २ वर्ष ४ महिना जेल बस्नुपर्ने हुन्थ्यो । त्यसमा उनले २० प्रतिशत छुट पाउने सूचना अधिकारी श्रेष्ठले बताए ।