मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष राष्ट्रिय दलित आयोगले चौथो वार्षिक प्रतिवेदन बुझाएको छ ।
आयोगका सदस्य टुन्जे कामी (बराइली)ले आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख खापुङलाई बुझाएका हुन् ।
सो अवसरमा प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै मुलुकलाई एकताबद्ध राख्न समाजमा कुनै पनि नागरिक माथि भेदभाव गर्न नहुने बताए । उनले दलित माथि भएको भेदभाव राष्ट्रिय समस्या भएको चर्चा गर्दै मुलुकका सबै जातजाति, समुदाय, भाषा भाषी र सबै खालका पहिचानलाई सँगै लगेर देश बलियो बनाउनेतर्फ लाग्न आग्रह गरे ।
प्रदेश प्रमुख खापुङले आयोगले पेश गरेको प्रतिवेदन प्रदेश सभामा व्यापक छलफल गरी कार्यान्वयन गर्न आफू सजग भएर लाग्ने प्रतिबद्धता जनाए ।
आयोगका सदस्य बराइलीले सिंगो सरकार दलित मैत्री भएमा समाजबाट छुवाछुत र भेदभाव अन्त्य गर्न सहयोग पुग्ने बताए ।