काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२५ का लागि वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा क्यानले पुरुष, महिला, यू-१९ र यू-१६ क्रिकेट टिमका लागि तयार गरिएका अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताको कार्यतालिका सार्वजनिक गरेको हो।
टोलीले १२ महिना घरेलु क्रिकेट खेल्नुका साथै १२ वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनेछ। क्यानले टी-२० विश्वकप छनोट र आइसिसी लिग-२ लाई प्राथमिकतामा राख्दै तालिका तयार गरेको जनाएको छ।
पुरुष क्रिकेट टोलीले अप्रिलमा हङकङमा हुने टी-२० सिरिज खेल्नेछ। मे महिनामा यूके भ्रमणपछि जुनमा स्कटल्याण्ड, नेपाल र नेदरल्यान्ड्सको सहभागितामा आइसिसी विश्वकप लिग-२ खेल्नेछ। टी-२० विश्वकप छनोटको तयारीका लागि नेपाली टोली श्रीलंका र भारतका विभिन्न स्थानमा प्रशिक्षण क्याम्पमा सहभागी हुनेछ।
अक्टोबरमा नेपालले ओमानमा हुने विश्वकप छनोट खेल्नेछ भने नोभेम्बरमा यूएईमा विश्वकप लिग-२ मा प्रतिस्पर्धा गर्नेछ। डिसेम्बरमा नेपालले ओमान र यूएईसँग आइसिसी विश्वकप लिग-२ तथा टी-२० सिरिज खेल्नेछ।
महिला क्रिकेट टोलीले पनि सन् २०२५ मा विभिन्न महत्त्वपूर्ण प्रतियोगिता खेल्नेछ। नेपालले थाइल्यान्डमा हुने महिला टी-२० विश्वकप छनोटमा सहभागिता जनाउनेछ। यस्तै, नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच त्रिकोणात्मक सिरिज खेल्ने कार्यक्रम तय गरिएको छ।
