काठमाडौँ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् ।
नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले आइतबार आयोजना गरेको तीन महिने जरा केन्द्रित अभियानको उद्घाटन गर्दै नेता राईले संघीयताको मर्म र भावना विपरीत भइरहेका सबै खाले हर्कतको एमालेले डटेर सामना गर्ने बताए ।
उनले भने, ‘केही समयत्ता बाहिर रहनसाथ ‘प्रचण्ड’ले राजावादी, रवि, बालेन लगायतका अराजक झुण्डसँग हिमचिम बढाएर निरन्तर अहिलेको व्यवस्थामाथि नै प्रहार गर्नुभएको छ, त्यो केवल आफै सकिने बाटो मात्र हो ।’
‘पछिल्लो समय सधैँ अस्थिरता र अराजक मच्चाउने झुण्डहरु राजा फर्काउने अभियान छन्,’ नेता राईले भने, ‘राजा, राणा शासन र अहिलेको व्यवस्थामा भएका कामको मुल्यांकन गर्नुस् कुन व्यवस्थामा विकास र समृद्धि भए ।’ थपे, ‘सबै विकास र समृद्धि लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा भएको हो जुन व्यवस्थामा जनता सर्वोपरि छन् ।’
‘प्रतिगामी तत्त्वहरू योजनाबद्ध ढंगले संघीयता र संविधानको प्रणालीलाई उल्ट्याउने खेलमा छन्’, उनले भने, ‘अव जनता पछाडि हैन अगाडि बढ्न चाहिरहेका छन् त्यसका लागि संविधान संशोधन गरी थप राम्रो बनाउन चाहन्छन् ।’ उनले ‘प्रचण्ड’ आफै धर्म, संस्कृति र पहिचानविरुद्ध अभियानमा लागेको आरोप लगाए ।
नेता राईले ‘प्रचण्ड’को गतिविधि सत्ताका लागि कहिले एमाले कहिले काँग्रेससँग टाँसिएर विदेशीसँग लम्पसार पर्ने गरेको बताए । अस्थिर सरकार रहँदा जनताका विकास प्रतिको तिव्र चाहाना पुरा हुन नसकेको बताउँदै उनले मिसन ०८४ एमालेका लागि तीनै तह बहुमतसहितको एकल नेतृत्वको सरकार हुने बताए ।