काठमाडौँ । नेकपा माओवादी केन्द्रले संविधान संशोधनको बहस चलिरहेको बेला बाह्य शक्तिले हिन्दु राज्यको अवधारणासहित नेपालमा आन्दोलन चर्काउन खोजेको आशंका गरेको छ ।
आज ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकमा हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग भएको विषयमा पनि छलफल भएको छ ।
बैठकपछि सचिव डोरप्रसाद उपाध्यायले भने, ‘बाह्य शक्तिहरूले हिन्दु राज्यको अवधारणसहित अगाडि आउनुपर्छ भनेर संविधान संशोधन लगायतका विषयहरूमा जोड पुगोस् भनेर सडक तताएको हुनसक्छ भन्ने आशंकासहित छलफल चलिरहेको छ । त्यसमा अहिलेको सरकारको नेतृत्वको मौनता रहस्यमय छ ।’
यस्तै आन्दोलन चलिरहे माओवादीले ल्याएको व्यवस्था कमजोर पार्न सकिन्छ भन्ने सरकारमा हुनेहरूले सोचेको हुनसक्ने आशंका व्यक्त गरे । उनले अब सडक र सदनको मोर्चालाई बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको सुनाए ।
उपाध्यायका अनुसार अध्यक्ष ‘प्रचण्ड’ले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको बताए । व्यवस्थाविरुद्ध राजतन्त्रवादीहरूको प्रयासको कारणबारे अध्ययन गरेर थप छलफलको लागि भोलि फेरि बैठक बस्ने भएको छ ।
उनले अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने तयारी रहेको बताए ।