काठमाडौँ । संघीय संसद् सचिवालय कर्मचारी ट्रेड युनियनको निर्वाचनमा रेणुका सुवेदी नेतृत्वको प्यानलले स्पष्ट बहुमत हासिल गर्दै विजय प्राप्त गरेको छ।
सोमबार सम्पन्न निर्वाचनमा अध्यक्ष पदका लागि सुवेदी ९२ मत ल्याएर निर्वाचित भइन्। अन्य उम्मेदवारहरू सरस्वती रिजालले ४७, अरुणकिशोर शर्माले ३५ र विष्णु खड्काले ३४ मत प्राप्त गरे।
उपाध्यक्षमा सुवेदी प्यानलकै प्रविन राई एक सय ११ मतसहित विजयी हुँदा नवीनकुमार सिंहले ५५ र जंगबहादुर मगरले ३७ मत पाए।
सचिव पदमा पवन महत निर्वाचित भए, उनले १०८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी सदन राईले ५२, प्रवल पौडेलले ३१ र विनय चौरेलले १२ मत ल्याए।
सहसचिव पदमा अनिशा ढकालले १०२ मत ल्याएर जित हासिल गरिन्, भने सरोजगोपाल डीसीले ५२ र रामप्रसाद सापकोटाले ४१ मत प्राप्त गरे।
कोषाध्यक्षमा सुरज पाण्डे १०० मतसहित विजयी भए, जबकि यमुना सुवेदीले ६० र सकुन्तला भट्टले ३९ मत पाए।
सदस्य पदमा डल्ले गुरुङ (१४३ मत), सानुकाजी महर्जन (११२ मत), निरज दाहाल (१०४ मत), सन्तोषकुमार यादव (१२२ मत), ज्योती साह (९९ मत) र सुदाम सुवेदी (११६ मत) विजयी भए।
नवनिर्वाचित अध्यक्ष सुवेदी सत्तारूढ नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय कार्यसमिति सदस्यसमेत हुन्।