रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागीतामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारबीचको अवार्ड प्रतियोगिताको प्रारम्भिक सूचीमा परेको छ ।
अर्जेन्टिनाको इन्टरनेशनल अब्जरभेटरी अन पार्टिसिपेसन (ओआईडिपी) संस्थाले गर्ने २४ औँ संस्करणको अवार्डका लागि तिलोत्तमा प्रारम्भिक सूचीमा परेको हो ।
तिलोत्तमा नगरपालिकाका निवर्तमान मेयर रहेका प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले सबै पालिकाहरूले यसैगरी लगावका साथ काम गर्ने हो भने सफा र सुन्दर नेपाल सम्भव रहेको बताए ।
‘परिश्रमको फल मिठो हुन्छ ।’ उनले सामाजिक सञ्जालमा यसको खुसी साट्दै लेखेका छन् । ‘अभियान प्रारम्भ गरेर तिलोत्तमालाई पूर्णसरसफाई उन्मुख नगरपालिका र शून्य खुला पोलोथिनमुक्त नगर घोषणा गर्दाको तत्कालीन नगर प्रमुखको रूपमा सम्पूर्ण नगरबासीसँग साट्न चाहन्छु । साथै यो अभियानलाई नयाँ उचाइमा पुर्याउन योगदान पुर्याउनु हुने वर्तमान जनप्रतिनिधिहरूका साथै कर्मचारी, विद्यालय,विभिन्न संघ संस्था, क्लब, आमा समूह, वन, खानेपानी तथा सरसफाइ संस्था, सिँचाइ संस्था, टोल विकास संस्था, सञ्चारकर्मी, सिम नेपाल संस्था लगायत सम्पूर्ण नगरबासीमा आभार व्यक्त गर्दछु’ उनले भनेका छन् ।
तिलोत्तमाका मेयर रामकृष्ण खाँणका अनुसार अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएकामा पहिलो चरणमा तिलोत्तमा उत्कृष्ट ४० मा छनोट भएको हो ।