कामख्या मन्दिर भारतको आसाम राज्यको राजधानी दिसपुर नजिकै रहेको गुवाहाटी सहरबाट ८ कि.मि. टाढा कामख्यामा पर्दछ । कामख्या रेलवे स्टेशनबाट करिब ४ कि.मि. माथि निलाचल पर्वतमा भारतको प्रख्यात कामख्या मन्दिर रहेको छ । यो मन्दिर शक्तिकी देवी सतीको मन्दिर हो । प्राचीन कालदेखि कामख्या तन्त्र सिद्धिको उच्चतम स्थान हो । यसको ठुलो तान्त्रिक महत्त्व छ। भारतमा भक्तहरूको आकर्षणको केन्द्र रहेको कामख्या मन्दिर तन्त्र, मन्त्र, योग साधनाको एक प्रमाणिक स्थान हो।
कामख्या मन्दिर रहेको आसाम राज्य उत्तर पूर्वी भारतको एक राज्य हो जुन ब्रम्हपुत्र र बाराक नदी उपत्यकाको किनारमा अवस्थित भित्री तराई हो । आसाम राज्यले ७८,४३८ वर्ग कि.मि. क्षेत्रफल ओगटेको छ। यो राज्य क्षेत्रफलको आधारमा उत्तर पूर्वी भारतको दोस्रो ठूलो राज्य हो र जनसङ्ख्याको हिसाबले सबैभन्दा ठूलो राज्य हो जहाँको जनसङ्ख्या ३.१ करोडभन्दा माथि रहेको छ। यस राज्यको उत्तरमा भुटान र अरुणाचल प्रदेश पर्दछ। पूर्वमा नागाल्याण्ड र मणिपुर, दक्षिणमा मेघालय, त्रिपुरा, मिजोरम र बंगलादेश पर्दछन्। अनि आसामको पश्चिममा पश्चिम बंगाल राज्य पर्दछ। असमिया असामको आधिकारिक भाषा हो। यस राज्यमा ३५ जिल्लाहरू छन्। जसमा ५ विभाजनहरू छन्। आसाम राज्यको राजधानी दिसपुर सहित गुवाहाटी सहर उत्तर पूर्वी भारतको सबैभन्दा ठुलो सहर हो।आसाममा एक सिङ्गे गैँडा, अर्ना, पुड्के बँदेल, बाघ, हात्ती र विभिन्न प्रजातिका चराहरू पाइन्छन्।आसाममा काजिरङ्गा राष्ट्रिय निकुञ्ज र मानस राष्ट्रिय निकुञ्ज छन जुन विश्व सम्पदा सुचीका क्षेत्रहरू हुन।
मलाइ कामख्या मन्दिर आसाम जाने इच्छा धेरै पहिले देखि लागिरहेको थियो। त्यसैले मैले कामख्या देवीको दर्शन गर्ने प्रमुख उद्देश्य सहित आसाम जाने योजना बनाए। यो मेरो पारिवारिक भ्रमण थियो। हामी भर्खरै तिहार सकेर इटहरी आइपुगेका थियौ। इटहरी स्थित क्वाटरबाट हामी २०८१ कार्तिक २८ गते तदनुसार १३ नोभेम्बर, २०२४ बिहानीमा ब्रेकफास्ट खाई करिब ८:०० बजे गाडीमा काँकडभिट्टा तर्फ गयौँ । इटहरीबाट ३ घण्टामा काँकडभिट्टा पुगियो। त्यहाँ पुगेपछि हामीले केही भारतीय पैसा साट्यौ। अनि हामी अटोमा नेपालको पूर्वी सिमाना मेची नदी पार गरी पानी टंकी पुग्यौँ। मेची नदिको पुल पार गरी भारत छिर्ने बेलामा भारतीय सुरक्षाकर्मीले हाम्रो परिचयपत्र जाँच गरेपछि मात्र भारतको पश्चिम बंगाल राज्य प्रवेश गर्न अनुमति दिए।
पानी टंकी पुगेपछि हामी सिलिगुडि जाने भारतीय बसमा चढ्यौ। प्रतिव्यक्ति भारु ५० मा उक्त बसले एक घण्टामा हामीलाई सिलिगुडि पुर्यायो। हामी सिलिगुडिको केन्द्र जक्सन नजिकै झर्यौँ। त्यहाँबाट हामी एउटा म्याजिकमा चढी न्यू जलपाईगुडि रेलवे स्टेशन तर्फ पुग्यौ। हामी त्यहाँ पुग्दा करिब १ बजेको थियो। त्यहाँ रेलवे स्टेशनको टिकट काउन्टरमा गई टिकट बुझ्यौ। टिकट काउन्टरमा सोधपुछ गर्दा त्यस दिनको लागि कन्फर्म टिकट उपलब्ध हुन सकेन। त्यसैले हामीले भोलिपल्ट बिहानीको स्लिपरको टिकट काट्यौ। भोलिपल्ट नोभेम्बर १४, बिहान ८:३० को प्रतिव्यक्ति भारु २८० को दरमा २ जनाको टिकट काटी हामी सिलिगुडीको खप्रैल मोडतर्फ फर्कियौ।
खप्रैल मोडबाट हामी अटोमा हियुमुल लास्ट गेटमा झर्यौ अनि बिस्तारै हिँड्दै शिवानन्द वेदान्त योग आश्रममा गयौ। म सिलिगुडि जाँदा शिवानन्द वेदान्त योग आश्रम जाने गर्दछु। त्यस आश्रम नजिकै ओशो सुमेरु आश्रम छ। म दुई वर्ष अघि ओशो सुमेरु आश्रम जाँदा त्यस नजिकै रहेको शिवानन्द योग आश्रम गएको थिए। त्यसपछि म चार पाँच पटक त्यस आश्रममा गएको छु। तीन चार पटक त बसेको पनि थिए। त्यहाँ बस्ने माताजीहरूले बहुत प्रेम गर्नुहुन्छ। स्वामी शिवानन्दद्वारा लिखित सुन्दर पुस्तक “योग से रोग निवारण” बहुत सुन्दर पुस्तक छ। त्यहाँ आश्रममा गाईहरू पनि पालिएका छन्। उहाँहरूले त्यहाँ बहुत स्वादिष्ट खाना खुवाउनु हुन्छ।
हामीलाई शिवानन्द वेदान्त योग आश्रम सिलिगुडीमा माताजीले बहुत प्रेमपूर्ण स्वागत गर्नुभयो। त्यहाँ केही साधुहरू पनि आएका रहेछन्। उहाँहरू सँग मिठो सतसङ्ग भयो। गुरु ओशोको चर्चा भयो। अनि हामीले त्यहाँ आफै खाना बनायौ अनि मिठोसँग खायौ। अनि त्यस रात बहुत मिठोसँग सिलिगुडिमा निदायौ।
भोलिपल्ट बिहान ५ बजे उठी स्नान गरी रेल यात्राको लागि टिफिन तयार गरी हामी बिहान ६:१५ मा आश्रमबाट न्यु जलपाईगुडि रेल्वे स्टेशन तर्फ हानियौ। हामी ७:३० मा रेल्वे स्टेशन पुग्यौ। हाम्रो ट्रेन ढिलो आउने सूचना प्राप्त भयो। हामीले ट्रेनमा खान ल्याएको टिफिन रेलवे स्टेशनमा नै रित्तियो। हाम्रो लामो प्रतीक्षापछि ११:४५ एएममा मात्र हाम्रो नर्थ-इष्ट, आनन्द विहार-कामख्या एक्सप्रेस रेल न्यू जलपाईगुडी आइपुग्यो। हामी ट्रेनमा चढ्यौ। हाम्रो वेटीङ टिकट कन्फर्म भइसकेको थियो। हाम्रो ट्रेन दिउसो ठिक १२ बजे न्यू जलपाईगुडीबाट हिँड्यो। केही बेरमा हामीले फराकिलो टिष्टा नदी पार गर्यौ।
हामी ट्रेनमा बहुत रमाइलो सँग यात्रा गरिरहेका थियौ। हामीले बेटगारा हुँदै जोलठगा नदी पार गर्यौ। त्यसपछि अलताग्राम आयो। केहीबेरमा हामी फालाकाटा भन्ने स्थानमा पुग्यौ। अनि टोरसा नदी आइपुग्यो। हामी केहिबेरमा न्यू कोचबिहार पुग्यौ। अनि हामी न्यू अलिपुरद्वार, चौतारा, कोकराझार, बासुगाँव, डाँगतल आदि ठाउँहरू हुँदै न्यू बगाई गाँव जक्सन पुग्यौ। अब हामी करिब कामख्या पुगिसकेका थियौ। त्यसपछि बिजनी, पातिला दह, बरपेटा रोड हुँदै एउटा विशाल नदी आइपुग्यो। त्यो विशाल अनि पवित्र नदी ब्रम्हपुत्र नदी रहेछ। उक्त ब्रम्हपुत्र नदी पार गरिसकेपछि तुरुन्त कामख्या रेलवे स्टेशनमा हामी पुग्यौ।
ब्रम्हपुत्र नदी एसिया महादेशका ठुला नदिहरुमध्ये एक हो। यो नदी तिब्बत, भारत तथा बंगलादेश हुँदै बग्दछ। तिब्बतको हिमालयको उत्तरी छेउमा रहेको कैलाश पर्वतको नजिक मानसरोवर ताल क्षेत्र यसको उदगम स्थल हो। तिब्बतमा यसलाई यार्लुग छंग्पो नदी भनिन्छ। ब्रम्हपुत्र नदी अरुणाचल प्रदेशबाट भारतमा प्रवेश गर्दछ। यो नदी भारतको अरुणाचल प्रदेशमा डिहाँग नामले चिनिन्छ र आसाम राज्यमा ब्रम्हपुत्र नामले। बंगलादेश पुगेपछि यसलाई जमुना भनिन्छ। यस नदिले २९०० किमि लामो यात्रा पुरा गर्दछ र यसको बाटोमा पर्ने सम्पूर्ण क्षेत्रहरूमा सिँचाइ, विद्युत् उत्पादन, यातायात, पिउने पानी, निर्माण सामाग्रीहरू प्रदान गर्ने एक मात्र नदी हो।यो नदी बंगलादेश पुगेपछि गंगा नदिको मूल शाखा पदमा सित मिलेर बंगालको खाडीमा गएर मिसिन्छ। संस्कृतमा ब्रम्हपुत्र को शाब्दिक अर्थ ब्रम्हको पुत्र हुन्छ।
हामी कामख्या पुग्दा बेलुकीको ६:४० भएको थियो। हामी कामख्या रेलवे स्टेशनमा झर्यौ। हामीलाई न्यू जलपाईगुडीबाट कामख्या आइपुग्न 7 घण्टा लाग्यो। कामख्या रेलवे स्टेशनबाट हामी केही बेर हिँडेपछि बसमा चढी कामख्या मन्दिर जाने चोकमा झर्यौ। उक्त ठाउँबाट हामी एउटा सेयरिङ ट्याक्सीमा कामख्या मन्दिर गयौ। त्यस रात कामख्या मन्दिर परिसर भित्र छिरी टाढैबाट दर्शन गर्यौ। अनि हामी बस्ने ठाउँ खोज्दै कामख्या मन्दिर नजिकै रहेको कायस्थ निवासमा बस्यौ। त्यस रात कायस्थ निवासमा मस्त सँग निदायौ।
भोलिपल्ट बिहान स्नान गरी कामख्या देवीको दर्शन गर्यौ। कामख्या मन्दिर नजिकै रहेको एक होटेलमा रोटी र दाल खाई हामी गुवाहाटी सहर तर्फ लाग्यौ। हामीले उमानन्द मन्दिर दर्शन गर्यौ। विशाल ब्रम्हपुत्र नदिको बिचमा रहेको पिकअक आइल्याण्डमा रहेको उमानन्द मन्दिरमा हामी एउटा पानी जहाजमा गएका थियौ। हामीले पवित्र ब्रम्हपुत्र नदिको पानीले मुख धोयौ। जल शिरमा चढायौ। केही बेर उमानन्द मन्दिर परिसरमा बिताएपछि फेरि हामी पानी जहाजमा गुवाहाटी सहरतर्फ फर्कियौ।त्यसपछि हामी बसमा गुवाहाटी रेल्वे स्टेशन गयौ अनि भोलिपल्ट बिहान गुवाहाटीबाट हिँड्ने गरी ट्रेनको टिकट काट्यौ। हामीले कामरूप एक्सप्रेस (हावडा-डिब्रुगड) को स्लिपरको टिकट लियौ अनि हामी पल्टन बजार गयौ। पल्टन बजारम रहेको ग्रान्ड प्लाजा र भिटु सपिङ मलमा गयौ। केही बेर पल्टर बजार वरिपरि हामी घुमफिर गर्यौ।
ब्रम्हपुत्र नदिको किनारमा रहेको गुवाहाटी र कामख्या सहर बहुत सुन्दर रहेछ। सहर सफा र चिटिक्क रहेछ। नजिकै साना साना हरिया जंगलले ढाकिएका पहाड बहुत सुन्दर देखिन्छन् गुवाहाटीबाट। प्रशस्त नेपाली भाषीहरू रहेको राज्य आसाम मलाई खुब मन पर्यो। गुवाहाटी सहरबाट ८ कि.मि. दुरीमा आसामको राजधारी दिसपुर रहेछ। आसामको डोमेस्टीक एयरपोर्ट बोर झारमा रहेछ। गुवाहाटीका अन्य प्रमुख प्रचलित ठाउँहरू उलुवारी, फेन्सी बजार, बशिष्ट आश्रम, ज्योर्ति लिङ्ग, स्कोन टेम्पल इत्यादि हुन्।
केहिबेर पल्टन बजारमा किनमेल र घुमफिर पछि हामीले उमाचल योग आश्रम जाने योजना बनायौ। अनि हामी गुवाहाटीबाट कामख्या जाने बसमा चडी कालीपुरमा झर्यौ। कालीपुरमा सोधपुछ गरेपछि हामी उमाचल योग आश्रम जान निलाचन पर्वततर्फ उकाली चडयौ। रिमझिम साँझ परिसकेको थियो। हामी जङ्गलको बिचमा भएको बाटो हुँदै उक्ली रह्यौ। रात परिसकेको थियो। त्यो अँध्यारोमा मोबाइलको टर्च बाल्दै भित्र अलि अलि डरको पनि महसुस गर्दै जङ्गलै जङ्गलको बिचबाट हामी उमाचल योग आश्रम पुग्यौ। त्यहाँ एक जना भाइ भेटिए। उनले केहीबेरमा उक्त आश्रमको इन्चार्ज सन्यासीलाई बोलाए। केहीबेरमा कपाल र हल्का दाह्री पालेका एक सन्न्यासी आए।
हामीले उनलाई हाम्रो परिचय दियौँ। ती कठोर जस्ता देखिने सन्न्यासी अरु बताऊ भने । हामीले हामी नेपालबाट कामख्या देवीको दर्शन गर्न आएको बतायौ। उनले खरो रूपमा यस आश्रममा तपाईँहरू आउन ढिलो भयो। यहाँ बस्न मिल्दैन तपाईँहरू अन्यत्र जानुस् भने। त्यसपछि हाम्रो त्यस रात उमाचन आश्रममा बस्ने योजना पुरा भएन। उमाचल योग आश्रम पहिला बहुत चलेको आश्रम रहेछ। गुरुले शरीर छोडेपछि त्यहाँको व्यवस्थापन बिग्रँदै गएछ। हामीलाई त्यस आश्रममा उपचारको लागि बसेका दुईजना भाइहरूले कामख्या मन्दिरसम्म पुर्याइ दिन्छौ भनी लिएर गए।
बिचमा पर्ने विजयकृष्णजीको आश्रममा पनि हामी गयौ। उक्त आश्रम चाहिँ बहुत सफा र मेन्टेन रहेछ। उक्त आश्रमका दुई सेवकहरूले बहुत प्रेमपूर्ण तरिकाले हामीलाई त्यस आश्रममा पनि बस्न नमिल्ने कुरा बताए। मैले त्यहाँ दुई वटा पुस्तकहरू किने। त्यसपछि हामी जङ्गलै जंगल छिचोल्दै त्यस अँध्यारोमा कामख्या मन्दिर पुग्यौ। कामख्या मन्दिर नजिकै पुगेपछि हामीलाई पुर्याउन आएका भाइहरू फर्किए।
हामी फेरि हिजोकै कायस्थ निवास पुग्यौ। अनि स्नानपछि हामी रातमा कामख्या मन्दिर परिसर गयौ। रातमा कामख्या मन्दिर परिसर बहुत ऊर्जावान् लाग्यो। चम्किला प्रकाशले जाज्वल्यमान कामख्या मन्दिरमा हामीले कामख्या देवीको आरतीको प्रसाद खायौ। हलुवामा काजु मिसिएको प्रसाद बहुत मिठो थियो। अनि त्यही पृष्ठभूमिमा कामख्या मन्दिर परिसरमा हामीले केहिबेर ध्यान गर्यौ। यत्रतत्र साधकहरू, तान्त्रिकहरू साधनारत देखिन्थे।बहुत ऊर्जाले भरिपूर्ण थियो त्यहाँ कामख्या मन्दिर परिसर। हामी कामख्या मन्दिर प्रवेशद्वारबाट दायाँतर्फ कुण्डको आडमा केही अग्लो स्थानमा ध्यान गरिरहेका थियौ। त्यहाँबाट हामीलाई आउनै मन लागिरहेको थिएन। तर पनि ढिलो भइसकेको हुनाले केही बेरपछि हामी मन्दिर परिसरबाट फर्किएर भोजन गरी कायस्थ निवासमा दोस्रो रात मस्तसँग निदायौ।
भोलिपल्ट १६ नोभेम्बरमा बिहान सबेरै उठी स्नान गरी कामख्या परिसरमा गई प्रख्यात कामख्या देवीको दर्शन गरी हामी गुवाहाटी तर्फ लाग्यौ। हामी आसामको सिटिबस बाट पल्टन बजार झर्यौ। त्यहाँको बजारमा कल्पनाले एउटा स्विटर किनिन् अनि मैले एउटा गुडाउने सुटकेस किनेर हामी गुवाहाटी रेल्वे स्टेशन तर्फ गयौ। रेल्वे स्टेशन पुग्दा हाम्रो कामरूप एक्सप्रेसको ट्रेन स्टेशनमा खडा रहेछ। बिहानको ठिक ८:२५ मा रेल न्यू जलपाईगुडी तर्फ गुड्न सुरु गर्यो। रेल चल्नुभन्दा केही बेर अघि स्याउ पखाल्न रेलबाट बाहिर गएकी कल्पनाको झण्डै रेल मिस भएको घटना अहिले पनि स्मरणमा तरोताजा छ।
गुवाहाटी रेल्वे स्टेशनबाट ट्रेन केहिबेरमा कामख्या पुग्यो। कामख्याबाट केही बेरमा विशाल ब्रम्हपुत्र नदी पार गरी ट्रेन रङ्गिया आइपुग्यो। ट्रेन निरन्तर अघि बढिरहेको थियो। स्टेसनहरूमा भने एक्कै छिन रोकिन्थ्यो। घोघरा पार, नलबाडी, कैथानकुची, टिहु, पाठशाला, सरुपेटा हुँदै हामी बरपेटा रोड आइपुग्यौ। बाटोमा बहुत धेरै नदीहरू पार गर्नु पर्दो रहेछ।
हामी ट्रेनमा बहुत रमाइलोसँग यात्रा गरिरहेका थियौ। ट्रेनमा बहुत धेरै खानेकुराहरू बिक्रीको लागि ल्याइरहेका थिए बिक्रेताहरूले। भुटानी सुन्तला, कलिला काँक्रा इत्यादि हामीले किनेर खायौ। हामीसँग साथमा नयाँ विवाहित जोडी थिए। उनीहरू डिब्रुगढबाट कलकत्ता जाँदै थिए। उनीहरूसँग मिठो कुरा गर्दै हामी यात्रा गरी रह्यौँ। यस पटकको ट्रेन अघिल्लो ट्रेनभन्दा सफा र व्यवस्थित थियो। सँगै परेका यात्रुहरू पनि बहुत शिक्षित, मिलनसार र सभ्य थिए। धेरै कुराहरूको जानकारी लिदै हामीले यात्रा गरिरह्यौ।
हामी सरभोग, न्यू बङ्गाई गाँव, डाँगतल, बासुगाँव कोकराझार हुँदै फकिराग्राम आइपुग्यौ। त्यसपछि हामी चौतारा हुँदै श्रीरामपुर आइपुग्यौ। श्रीरामपुर रेल्वे स्टेशन आसाम राज्यमा पर्दछ। श्रीरामपुर आसाम र वेस्ट बंगालको सिमानामा पर्दछ। त्यसपछि हामी वेस्ट बंगाल राज्य प्रवेश गर्यौ। वेस्ट बङ्गालको कामख्यागुडी रेल्वे स्टेशन हुँदै न्यू अलिपुरद्वार आइपुग्यौ। न्यू अलिपुरद्वारबाट भुटान जान नजिक पर्दछ। न्यू अलिपुरद्वारबाट जयगाँवको दुरी जम्मा ४५ कि.मि. छ। भुटान जानको लागि न्यू जलपाइगुडी बाट न्यू अलिपुरद्वारसम्म ट्रेनमा आइ त्यहाँबाट बसमा जय गाँव जान सकिन्छ। जय गाँव भारत र भुटानको सिमानामा पर्ने भारतको अन्तिम स्थान हो। यदि बसबाट भुटान जाने हो भने सिलिगुडी जक्सनबाट सिधै बसमा आसिमारा हुँदै जय गाँव पुग्न सकिन्छ। आसिमाराबाट जय गाँव २० कि.मि. दुरीमा पर्दछ। भुटान र भारतको सिमानामा भुटान तिरको सहरको नाम फुलसिलिङ हो।
हामी कामरूप एक्सप्रेसमा न्यू अलिपुरद्वार पछि कुछविहार, फालाकाँटा, धुपगुडी, न्यू मैनागुडी हुँदै टिष्टा नदी पार गर्यौ।सुगौली सन्धि अघिसम्म नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा काँगडा सम्म थियो भन्ने हामीले सुन्दै आएको हो। हामी गतिमान ट्रेनमा जलपाईगुडी आइपुग्यौ। अब हामी झर्ने स्टेशन नजिक आइसकेको थियो। केहिबेरमा हामी न्यू जलपाईगुडी रेल्वे स्टेशन आइपुग्यौ। हामी साझको ५:२८ मा न्यू जलपाईगुडी आइसकेका थियौ। हामीलाई गुवाहाटीबाट न्यू जलपाईगुडी आइपुग्न ठ्याक्कै ९ घण्टा लाग्यो।
न्यू जलपाईगुडीमा हामी ट्रेनबाट उत्रिएर सिधै खप्रैल मोडतर्फ गयौ। त्यसपछि हामी हाम्रो प्रिय आश्रम श्री शिवानन्द वेदान्त योग आश्रममा पुग्यौ। त्यहाँ आश्रमकी सेवक माताजी हामी आएको देखि बहुत खुसी हुनुभयो। अरु पाहुना साधुहरुपनि त्यही हुनुहुन्थ्यो। हामीले आश्रममा मिठो खाना खायौ। अनि त्यस रात शिवानन्द आश्रममा बहुत मिठोसँग निदायौ।
भोलिपल्ट 17 नोभेम्बर बिहान हामीले आश्रमको मिठो खाना खाई हामी पानी टंकीतर्फ भारतीय बसमा गयौ। पानी टंकीमा केही बेर सपिङ गरी हामी मेची नदी पार गर्दै काँकडभिट्टा बाट गाडीमा इटहरी फर्कियौ। हामी इटहरी पुग्दा बेलुकीको करिब 5 बजेको थियो। यसरी हाम्रो आसाम राज्यको कामख्या देवी मन्दिरको भ्रमण बहुत सुन्दर तरिकाले पुरा भयो।
समाप्त ! धन्यवाद ! जय कामख्या देवी !