भिन्न प्रकृति र भिन्न जिम्मेवारी भएका नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई नयाँ कानुनी व्यवस्था मार्फत उस्तै–उस्तै बनाउने जुन अग्रसरता सरकारले देखाएको छ, यसले मुलुकको सुरक्षाका दुई प्रमुख अंगलाई आपसमा जुधाउने जोखिम बढेको छ । त्यसको परिणाम सुरक्षामै गम्भीर संकट पैदा हुनसक्छ ।
नेपालमा शान्ति सुरक्षा बहाली, अपराध अनुसन्धान र कानुन कार्यान्वयनका लागि नेपाल प्रहरीले काम गरिरहेको छ । त्यस्तै, अन्तर्राष्ट्रिय सीमाको सुरक्षा, भन्सार गस्ती, औद्योगिक प्रतिष्ठानको सुरक्षा लगायतमा सशस्त्र प्रहरी बल खटिएको छ । अर्थात् यी दुवै सुरक्षा संगठन आ–आफ्नै विशिष्ट कार्यक्षेत्रसहित काम गरिरहेका छन् । पछिल्लो समय भने सरकारले यी दुई संगठनका ऐन तथा कानुनी संरचनालाई समान बनाउन खोजेको भन्दै सुरक्षा क्षेत्रका विज्ञहरू, नीति निर्माता तथा आम नागरिकबाट आलोचना बढ्न थालेको छ । उनीहरूको चिन्ता यी दुवै संगठनलाई आधारभूत रूपमा उस्तै बनाउन थालियो भन्ने छ ।
यदि यी दुई निकायहरू उस्तै प्रकृतिका बनाउन लागिएको हो भने प्रश्न उठ्छ– एउटै उद्देश्य वा उस्तै कामका लागि किन दुई वटा संगठन आवश्यक पर्यो त ? कतिपयले त्यसो हो भने यी दुवै संस्थालाई एकापसमा ‘मर्ज’ गरेर अब एउटै सुरक्षा निकाय बनाउनु उचित हुने तर्क गरिरहेका छन् । अर्का थरीले भने दुवै संस्थाको विशिष्टता कायम राख्दै, उनीहरूलाई अझ बढी व्यावसायिक बनाउनेतर्फ ध्यान दिनुपर्ने सुझाव दिइरहेका छन् ।
यो आलेखमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई एकै किसिमको बनाउनु किन उपयुक्त छैन ? सशस्त्र प्रहरी बललाई अझ दक्ष र प्रभावकारी कसरी बनाउन सकिन्छ ? यी संस्थाहरूमा रहेको मूलभूत भिन्नता तथा सुरक्षामा हुने प्रभावहरूबारे विस्तृत रूपमा चर्चा गरिनेछ ।
प्रहरी र सशस्त्र प्रहरीको पृष्ठभूमि र कार्यक्षेत्र
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवैको इतिहास बेग्लै छ । अनि यी संस्थाहरूले फरक–फरक जिम्मेवारी बहन गर्दै आएका छन् । सुरक्षा व्यवस्थामा परिवर्तन ल्याउनका लागि यी दुई संस्थाको ऐतिहासिक पृष्ठभूमि र कार्यक्षेत्रलाई बुझ्नु आवश्यक हुन्छ ।
सबभन्दा पहिले नेपाल प्रहरीको चर्चा गरौँ । मुलुकको आन्तरिक सुरक्षा र कानुन कार्यान्वयनको जिम्मेवारी पाएको प्रमुख संस्था नेपाल प्रहरीको स्थापना २००७ सालमा भएको हो । त्यस बेला पुलिस फोर्सका रूपमा स्थापना भए पनि यसको औपचारिक स्वरूप भने २०१२ सालमा अस्तित्वमा आएको हो । नेपाल प्रहरी सार्वजनिक सम्पत्तिको रक्षा, अपराध अनुसन्धान, कानुन कार्यान्वयन, शान्ति सुव्यवस्था कायम गर्ने तथा सामुदायिक सुरक्षा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यरत छ । नेपाल प्रहरीले स्थानीय प्रशासनसँग समन्वय गर्दै नागरिकको सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवारी पनि बहन गरिरहेको छ ।
नेपाल प्रहरीका मुख्य कार्यहरूमा अपराध अनुसन्धान (हत्या, चोरी, अपहरण, ठगी, साइबर अपराध आदिको अनुसन्धान), सामुदायिक प्रहरी सेवा र कानुन कार्यान्वयन, शान्ति सुव्यवस्था कायम गर्न परिचालन, ट्राफिक व्यवस्थापन, अन्तर्राष्ट्रिय प्रहरी संगठनसँग समन्वय, सार्वजनिक सुरक्षा सम्बन्धी नीति निर्माण लगायत छन् ।
देशमा आन्तरिक द्वन्द्व अर्थात् माओवादीको हिंसात्मक विद्रोह चर्कँदै गएपछि स्थापना भएको हो सशस्त्र प्रहरी बल । अद्र्धसैन्य बलका रूपमा स्थापित सशस्त्र प्रहरी बलको स्थापना २०५८ सालमा भएको हो । अहिले यो मुख्यतः अन्तर्राष्ट्रिय सीमाको सुरक्षा र विशेष सुरक्षा कार्यमा केन्द्रित छ । यो गृह मन्त्रालय अन्तर्गतको एक स्वायत्त सुरक्षा निकायका रूपमा रहेको छ । यसको मुख्य जिम्मेवारी सीमाको सुरक्षा, सशस्त्र विद्रोह तथा दंगा नियन्त्रण, आतंकवादविरोधी अभियान, विपद् व्यवस्थापन तथा विशेष सुरक्षा कार्यहरूमा संलग्नता रहिआएको छ ।
सशस्त्र प्रहरी बलका प्रमुख कार्यहरूमा नेपालको सीमा सुरक्षा र अवैध गतिविधि नियन्त्रण, दंगा नियन्त्रण तथा आतंकवाद नियन्त्रण, सुरक्षा संवेदनशील क्षेत्रमा विशेष सुरक्षा प्रदान गर्ने, विपद् व्यवस्थापन तथा उद्धार कार्य, सरकारद्वारा निर्दिष्ट गरिएकाअरु विशेष सुरक्षा मिसनहरू रहेका छन् ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल दुवै संगठनको कार्य प्रणाली, तालिम, परिचालन रणनीति तथा सुरक्षामा केन्द्रित कार्यहरू पूर्ण रूपमा फरक छन् । त्यसैले, यी संस्थाहरूलाई एउटै बनाउने प्रयास गर्दा व्यावसायिकता खस्कन सक्छ र सुरक्षामै गम्भीर चुनौती सिर्जना हुन सक्छ ।
हाल नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी संसदमा पुगेका विधेयकमार्फत दुवै संगठनका ऐनहरूलाई उस्तै उस्तै बनाउन खोजिएको छ र त्यसो गरिँदा यी संस्थाहरूको कार्यक्षेत्रमा दोहोरोपन र द्वन्द्व सिर्जना गर्ने सम्भावना बढाएको छ ।
उदाहरणका लागि यदि सशस्त्र प्रहरी बललाई अनुसन्धान गर्ने अधिकार दिने प्रावधान ल्याइयो भने नेपाल प्रहरीको कार्यक्षेत्रमा सशस्त्र प्रहरीले हस्तक्षेप गर्ने अवस्था आउनेछ । यसले निम्त्याउन सक्ने गम्भीर समस्यालाई यस प्रकार चर्चा गर्न सकिन्छ :
कार्य क्षेत्र स्पष्ट नहुने : एउटै प्रकृतिका कार्यहरू गर्ने दुई वटा निकाय हुँदा कसको जिम्मेवारी के हो भन्ने अन्योल बढ्न सक्छ ।
अस्वस्थ प्रतिस्पर्धा बढ्ने : समान कार्यक्षेत्र भएका दुई संस्थाबीच कुशासन, अधिकार दोहन र शक्ति संघर्षको सम्भावना बढ्न सक्छ ।
समन्वय अभाव : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सहकार्य गर्नुपर्ने ठाउँमा प्रतिस्पर्धा गर्न थाले भने सुरक्षा प्रणाली नै कमजोर बन्न सक्छ । त्यसैले, सरकारले दुवै संस्थालाई एउटै बनाउने योजनामा अगाडि बढ्नु भन्दा आ–आफ्नो कार्यक्षेत्रमा अझ प्रभावकारी बनाउन ध्यान दिनु उचित हुनेछ ।
सशस्त्र प्रहरी बललाई थप व्यावसायिक बनाउन
नेपाल प्रहरीलाई अपराध अनुसन्धानमा दक्ष र प्रभावकारी बनाउन थप आधुनिक प्रविधियुक्त बनाउनुपर्ने खाँचो छ । त्यस्तै, सशस्त्र प्रहरी बललाई पनि अझ दक्ष, सशक्त र प्रभावकारी बनाउन थुप्रै सुधारका काम गर्न सकिन्छ, जस्तो:
सीमा सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने : नेपालको भारत र चीनसँग खुला सीमा भएको कारण सीमा क्षेत्रबाट हुने अवैध तस्करी, मानव तस्करी, लागुऔषध ओसारपसार तथा अवैध आप्रवासन नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई अझ प्रविधियुक्त बनाउन आवश्यक छ । जसका लागि सीमा क्षेत्रमा आधुनिक निगरानी उपकरणहरू जडान गर्नुपर्छ ।
सुरक्षा पोस्ट वृद्धि, नाकामा कडा निगरानी : अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न अनुगमन तथा गस्ती प्रणाली सुधार गर्नुपर्छ ।
विपद् व्यवस्थापन क्षमता वृद्धि : सशस्त्र प्रहरी बल विपद् व्यवस्थापनमा प्रभावकारी रूपमा खटिने भएकाले यसलाई अझ व्यवस्थित र उच्च प्रविधियुक्त बनाउनु जरुरी छ । भूकम्प, बाढी, पहिरो, आगलागीका घटनाहरूमा तत्काल उद्धार टोली परिचालन गर्ने गरी तयार गर्नुपर्छ । त्यस्तै, अन्तर्राष्ट्रिय स्तरका तालिमप्राप्त विपद् व्यवस्थापन युनिट स्थापना गर्नेतर्फ लैजानुपर्छ ।
आतंकवाद र संगठित अपराध नियन्त्रणमा विशेष इकाइ : नेपालमा आतंकवाद तथा संगठित अपराधको सम्भावना बढ्दै गइरहेकाले सशस्त्र प्रहरी बललाई विशेष कार्यदल स्थापना गरी मात्र परिचालन गर्ने नीति अपनाउनु आवश्यक छ । यसका लागि अन्तर्राष्ट्रिय आतङ्ककारी नेटवर्कको निगरानी गर्ने विशेष युनिट गठन गर्ने तथा संगठित अपराध तथा साइबर अपराध नियन्त्रणमा प्रविधियुक्त रणनीति ल्याउनेतर्फ केन्द्रित गर्न सकिन्छ ।
सरकारले यी दुई संस्थाहरूलाई जुधाउने सोच राख्नुभन्दा उनीहरूको आ–आफ्नो कार्यक्षेत्रमा सुधार ल्याउनेतर्फ ध्यान दिनु जरुरी छ ।
सम्बन्धित : व्यावसायिक बन, नेपाल प्रहरी