काठमाडौँ। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई जिल्ला अदालत नवलपरासीले १ वर्षा कैद, दुई लाख जरिवाना र ८ हजार क्षतिपूर्ति भराउने फैसला गरेको छ।
लागुऔषधसम्बन्धी मुद्दामा गत साता बुधबार न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई दोषी ठहर गरेको थियो । बिहीबार भएको सजाय निर्धारण फैसलाअनुसार गुप्तालाई जरिवानासहित कारागार चलान गर्ने निर्णय गरिएको छ ।
यसै मुद्दामा नगरप्रहरी रघुनाथप्रसाद धोबीलाई २ वर्ष कैद र ४ लाख रुपैयाँ जरिवानाको सजाय सुनाइएको छ । धोबी यसअघि पनि लागूऔषध मुद्दामा दोषी ठहर भइसकेकाले थप १ वर्ष कैद र ५० हजार रुपैयाँ क्षतिपूर्तिको सजाय पनि उनलाई भुक्तान गर्नुपर्ने अदालतले निर्धारण गरेको छ । धोबी २०७९ असोज २६ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् ।
अदालतले यस प्रकरणका अन्य दुई अभियुक्त रामा गुप्ता (रामा साह)र जितेन्द्र पासवानलाई भने सफाइ दिएको छ ।
घटनाका विवरणअनुसार, २०७९ असार २२ गते रामग्राम नगरपालिका–१७ पिपरिहयामा अध्यक्ष गुप्ताको निर्देशनमा रामा र जितेन्द्रलाई फसाउन खोजिएको आरोप लागेको थियो ।
गुप्ताको निर्देशनमा रघुनाथप्रसाद धोबी र विवेकप्रसाद पाण्डेले रामा र जितेन्द्र चढेको मोटरसाइकल नजिक लागूऔषध राखेर फसाउन खोजेको आरोप जितेन्द्रको परिवारले लगाएको थियो । बरामद भएको लागूऔषधमा ९० थान डाइजेपाम, नुर्फिन र फेनार्गनका एम्पुल रहेको उल्लेख छ ।