भटाभट उपकरण खरिद गर्ने, तर प्रयोग नगर्ने बेथिति मात्रै होइन सिभिलमा सेवा लिन आउने नागरिक त्यहाँको व्यवस्थापन देखेर हैरान छन् ।
काठमाडौँ । प्रभावकारी स्वास्थ्य सेवा प्रवाहका लागि भन्दै सरकारी अस्पतालहरूमा हरेक वर्ष विभिन्न किसिमका करोडौँका उपकरणहरू खरिद हुन्छन् । सरकारले सरकारी अस्पतालमा उपकरण खरिदका लागि वार्षिक अर्बौँ रकम खर्च गर्दै आएको छ । तर अस्पतालहरूमा खरिद भएका उपकरणहरू भने प्रयोगमै आउन सकेका छैनन् ।
महालेखा परीक्षकको कार्यालयले केही समय अघि मात्रै सार्वजनिक गरेको प्रतिवेदन अनुसार निजामती कर्मचारी (सिभिल) अस्पतालका करोडौँका मेसिनरी उपकरण प्रयोग विहीन भएको पाइएको छ । नागरिकलाई छिटो, छरितो र सस्तोमा सेवा दिने उद्देश्यले स्थापना भएको सिभिल अस्पतालमा नियमनकारी निकायको भूमिका कमजोर भएका कारणले त्यहाँ भएका मेसिनरी सामाग्री प्रयोग विहीन भएका छन् ।
भटाभट उपकरण खरिद गर्ने, तर प्रयोग नगर्ने बेथिति मात्रै होइन सिभिलमा खरिद गरिएका उपकरणमा पनि आर्थिक चलखेल हुने गरेको अस्पतालकै पदाधिकारीले बताउँछन् । यति मात्र होइन, अस्पतालमा सेवा लिन आउने नागरिक पनि त्यहाँको व्यवस्थापन देखेर हैरान छन् ।
नाम नखुलाउने सर्तमा कर्णालीको मुगु जिल्लाबाट सेवा लिन आएका एक सेवाग्राहीले अस्पतालबाट दिइने सेवा र बिरामीप्रति यहाँका कर्मचारीले गर्ने ब्यवहारले अबका दिनमा महँगो शुल्क तिरेर भए पनि अन्य अस्पताल तथा मेडिकलबाट सेवा लिने बताए । अस्पतालको फार्मेसीमा औषधी किन्न जाँदा आवश्यक औषधी नपाइने, लगायत सेवाग्राहीप्रति उनीहरूको बोल्ने शैलीसमेत राम्रो नभएको उनले गुनासो पोखे । नर्स र चिकित्सकले दिने सेवासमेत खासै उत्कृष्ट नभएको उनी बताउँछन् ।
बिरामीलाई सास्ती
अस्पतालको हरेक विभागको क्षेत्रमा पालो पर्खने बेला सहज महसुस गराउन बिरामीका लागि टेलिभिजन राखिएको छ । तर ती टेलिभिजन प्रयोग विहीन भएका छन् । अस्पतालमा बहिरंग सेवाका लागि टिकट दुई तरिकाले लिन सकिन्छ, ई–टिकेटबाट तथा लाइन बसेर । लाइन बसेर लिनेका लागि टोकनको व्यवस्था गरिएको छ । तर हाल उक्त सेवा पनि प्रयोगमा आएको छैन । त्यहाँ रहेको फार्मेसीमा दुई वटा ठाउँबाट औषधी लिन मिल्ने भएता पनि एउटा मात्र ठाउँको प्रयोग भएको छ ।
यसले गर्दा इमर्जेन्सी वार्डका बिरामीको लागि आवश्यक पर्ने औषधी किन्न मुस्किल हुने गरेको सेवाग्राही बताउँछन् । यति मात्र होइन फार्मेसीमा बस्ने कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने व्यवहार राम्रो छैन ।
औषधी किन्नको लागि घण्टौँसम्म लामो लाइन बस्दा पनि बिरामीको लागि आवश्यक पर्ने औषधी केही मात्र पाइने गरेको सेवाग्राहीहरूको गुनासो छ । औषधी किन्नको लागि घन्टौँ लाइन बसेर पालो आउँछ, तर बिरामीको लागि आवश्यक पर्ने औषधी आधा मात्र पाइन्छ, एक सेवाग्राहीले भने, “अस्पतालको फार्मेसीमा केही सस्तोमा औषधी पाइन्थ्यो तर सबै औषधी उपलब्ध नभएकाले बाहिर अन्य पसलमा गएर महँगो शुल्कमा औषधी किन्न परेको छ ।“
उपकरण खरिदमा मोह
अस्पताललाई आवश्यक मेसिन उपकरण खरिद गर्नु आफैँमा नराम्रो पक्ष होइन । तर, सिभिल अस्पतालमा मेसिन उपकरण खरिदमा मोह देखिएको छ । आवश्यकता पहिचान नै नगरी अस्पतालले बर्सेनि खरिद गरेका करोडौँ मूल्यका मेसिन उपकरण प्रयोग नै नगरी थन्क्याएर राखेको पाइएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०८१ अनुसार खरिद गरेका मेसिन उपकरण सञ्चालनमा नभएको, वारेन्टी अवधि पूरा भइसक्दा पनि उपकरण सञ्चालनमा नल्याएको जनाएको छ ।
मेसिन उपकरणको उपयोग सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६ तथा नियमावली, २०६४ को नियम ७२८ मा खरिद योजना, गुरुयोजना तयारी तथा खरिद आवश्यकताको पहिचान गरी खरिद गर्नुपर्ने व्यवस्था छ । अस्पतालमा २०७६ मा रू. २ करोड ९२ लाखमा खरिद गरेको नेभिगेसन सिष्टम फर टोटल नी रिप्लेसमेन्ट सर्जरी मेसिन, २०७८ मा रू. १ करोड ६२ लाखमा खरिद गरेको बाल चिकित्सा नवजात भेन्टिलेटर र २०७६ मा रू.८३ लाखमा खरिद गरेको अक्सिजन प्लान्टलगायतका रु.५ करोड ३७ लाखका मेसिन उपकरणहरू खरिदपश्चात् जडान नभई प्रयोगविहीन अवस्थामा रहेका छन् ।
त्यसै गरी रू. १३ करोड १७ लाख मूल्यका सी आर्म यू.एस.जी., होलमियम लेजर, भेन्टिलेटर स्पाइनल इन्डोस्कोपी सिस्टम बायोमेडिकल संक्रामक फोहर उपचार प्रणालीलगायतका १० थान उपकरणहरू मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेकोमा मर्मत सम्भार नगरेको पाइएको छ । अस्पतालका अक्सिजन प्लान्ट निष्क्रिय राखी यस वर्ष अस्पतालले रू.८२ लाख ४९ हजारको अक्सिजन खरिद गरेको छ । उपलब्ध उपकरणको प्रभावकारी व्यवस्थापन गरी सेवा प्रवाहमा सुधार गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार प्रत्येक वर्षको लागि चाहिने औषधि मितव्ययी तथा प्रतिस्पर्धीरूपमा औषधि खरिद गर्नुपर्दछ । अस्पतालले २०७६ को लागि औषधि खरिद गर्न भनिएको खरिद सम्झौताबाट यो वर्ष रू. २३ लाख ६२ हजारसहित रू. ७ करोड ५९ लाख ८४ हजारका विभिन्न प्रकारका औषधिहरू बोलपत्र आह्वान नगरि खरिद गरेको छ । बोलपत्र नपरेका औषधिहरू यसरी खरिद गरेको उल्लेख गरे पनि एक पटक गरेको ठेक्का सम्झौताबाट ४ आर्थिक वर्षसम्म खरिद गर्ने कार्य बन्द गरी प्रत्येक वर्ष बोलपत्रको माध्यमबाट खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने प्रतिवेदनले औँल्याएको छ ।
मेडिकल तथा क्लिनिकल अडिट नेपाल सरकार, स्वास्थ्य मन्त्रालयद्वारा जारी क्लिनिकल अडिट सञ्चालन कार्यविधि निर्देशिका, २०७७ अनुसार क्लिनिकल अडिट गर्ने उल्लेख छ । उक्त अडिटमा मेडिकल तथा प्यारा मेडिकल स्टाफद्वारा बिरामीलाई प्रदान गरिने स्वास्थ्य सेवाको सबै पक्षको गतिविधिको मुल्यांकनमा सुधार नभएको पाइएको छ ।
एक वर्षमा करिब २ लाख भन्दा बढीलाई सेवा
यो वर्ष अस्पतालले २७ हजार ८९३ निजामती कर्मचारी र निजका परिवारलाई सेवा प्रदान गरेको छ भने २ लाख ६१ हजार १४८ सर्वसाधारणलाई विभिन्न सेवा दिएको बताएको छ । यस मध्ये २ लाख ८९ हजार ४१ जनालाई बहिरङ्ग सेवा ४ हजार २५६ लाई अन्तरङ्ग सेवा, २ हजार ४५० शल्यचिकित्सा सेवा २० हजार ९५० आकस्मिक सेवा, ३ हजार ३४० सी.टी. स्क्यान सेवा १ हजार ९६ लाई एम. आर. आई सेवा, प्रयोगशाला परीक्षणलगायत विभिन्न सेवा उपलब्ध गराएको छ ।
यस अस्पतालले सुरुमा निजामती कर्मचारी र निजका परिवारलाई उपचार सेवा प्रदान गर्दै आएकोमा पछि सर्वसाधारणको लागि पनि खुल्ला गर्दा उपचार गर्न लामो समय लाग्ने गरेको छ । यस्तै अस्पतालले गत वर्ष रू.३२ करोड १० लाख, नेपाल सरकारको अनुदान रू. १२ करोड ११ लाख बिक्री तथा सेवा शुल्क रू.५७ करोड ५ लाख र अन्य आय रू.१० करोड ७१ लाखसहित रू. १ अर्ब ११ करोड ९७ लाख आय देखाएको छ ।
त्यसै गरी सञ्चालनतर्फ रू. १५ करोड २४ लाख, कर्मचारीतर्फ रू. ३९ करोड ८९ लाख, प्रत्यक्ष खर्चतर्फ रु. १२ करोड ९६ लाख र अन्यतर्फ रू. १२ करोड ११ लाख गरी रू.८० करोड २० लाख खर्च भई रू. ३१ करोड ७७ लाख बचत रहेको छ ।
तर सफाचट छ अस्पताल
सरकारी अस्पताल भन्ने बित्तिकै धेरैको अनुमान फोहोर र अस्तव्यस्त होला भन्ने हुन्छ । तर पछिल्लो केही समयदेखि सिभिल अस्पताल भने सफाचट अस्पतालको उदाहरण बनेको छ । उक्त अस्पताल हेर्दै जाँदा कुनै अन्तर्राष्ट्रिय स्तरको अस्पतालजस्तो देखिन्छ ।
अस्पताल प्रवेश गर्न बित्तिकै सफा कम्पाउन्ड, चारैतिर रहेको बगैँचाले जोकोहीलाई आनन्दित तुल्याउँछ । अस्पतालको हरेक विभागको क्षेत्रमा पालो पर्खने बेला सहज महसुस गराउन बिरामीका लागि टेलिभिजन राखिएका छन । तर टेलिभिजन भने प्रयोग विहीन अवस्थामा थन्किएका छन् । कुर्सीको व्यवस्थापन भने गज्जबको छ । बिरामी र कुरुवाको अनुभवमा बाहिर मात्र नभई भित्र पनि यो अस्पताल सफा र व्यवस्थित छ । उनीहरूको दृष्टिमा यो अस्पताल पछिल्लो समय सफा छ । अहिले अस्पतालका वार्डहरू दैनिक तीन पटक सफा गरिन्छ । अस्पतालको सफाइ कुनै निजी अस्पतालको भन्दा कम नरहेको कुरुवाको भनाई छ ।
यस्तै अस्पतालमा ई–टिकेटमार्फत बिरामीको नाम दर्ता, तीन घण्टामै ल्याब रिपोर्ट, चौबिसै घण्टा फार्मेसी सेवा, बिहान ७ देखि बेलुकी ७ बजेसम्म भिडियो एक्सरे सेवा, सिटी सक्यान, एमआरआई दुई दिनभित्रै पालो पाउने गरी व्यवस्था मिलाइएको छ । सन् २०१० मा स्थापित सरकारी ‘सिभिल अस्पताल’ नेपाल सरकारका कर्मचारीका लागि भनिए पनि यो अस्पतालले सर्वसाधारणलाई पनि सेवा दिँदै आएको छ ।